काठमाडौं : प्रतिनिधिसभाको प्रमुख दल नेकपा एमाले स्थानीय तहको चुनावमा दोस्रो दलमा खुम्चिएको छ । नेपाली कांग्रेसले ३२९ स्थानीय तह जितेर प्रमुख शक्ति बन्दा एमालेले २०५ स्थानीय तह मात्रै जितेको छ । एमाले भन्दा कांग्रेसले १२४ स्थानीय तह बढी जितेको छ । ०७४ को स्थानीय चुनावमा एमालेले २९४ स्थानीय तह जितेको थियो । दोस्रो शक्ति बनेको कांग्रेसले भने २६६ स्थानीय तह जितेको थियो ।
त्यतिखेर एमाले भन्दा कांग्रेस २८ स्थानीय तह मात्रै जितेको शक्ति बनेको थियो । यसपटक भने एमालेलाई ठूलो अन्तरले पछि पारेको छ । त्यसबेलाको चुनावमा पनि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनकै उम्मेदवारलाई पराजित गरी एमालेले काठमाडौं र पोखरा महानगर पालिका सहित ठूला शहरहरु लगभग कब्जा गरेको थियो । एघार उपमहानगर पालिका मध्ये एमालेले सात स्थानीय तह जितेको थियो ।
तर यसपटक भने एउटै पनि महानगर जित्न सकेन । एघार मध्ये तीन उपमहानगर मात्रै जितेको छ । एमालेले गठबन्धनका उम्मेद्वार हराउँदै तुलसीपुर, घोराही र कलैया उपमहानगर पालिका मात्रै जितेको छ । ६ मध्ये चार महानगरको उपमेयर भने एमालेले जितेको छ । एमालेले काठमाडौं, ललितपुर, पोखरा र विराटनगरको उपमेयर जितेको छ ।
यसपटक एमालेविरुद्ध गठबन्धन बन्नु मात्रै नभएर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग मात्रै भएन, एमाले समेत विभाजित भयो । पार्टीका संस्थापक एवम् पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित नेताहरुले नेकपा एकीकृत समाजवादी गठन गरे । पार्टी विभाजनको असर देखिदा एमालेले ठूलो संख्यामा स्थानीय तहको नतिजा गुमाउनु परेको छ । तर एमाले नेतृत्वले भने सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरी धादली गरेको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमै यस्तो निष्कर्ष सुनाएका थिए ।
तर यसपटक अध्यक्ष ओलीको अभिव्यक्ति भन्दा पनि एमाले नेताहरुले भने अन्तर्घातलाई प्रमुख समस्या मानेका छन् । पोखरा महानगर पालिकामा गठबन्धनलाई मत बेच्न गरिएको अडियो बार्गेनिङ सार्वजनिक भएको थियो । त्यही अडियोलाई लिएर एमालेभित्रका दुई समूह एकअर्काविरुद्ध खनिएका छन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहका नेताहरुले सार्वजनिक रुपमै एकअर्कालाई आरोप लगाइरहेका छन् ।
टिकट वितरणमा पनि यी दुई समूहबीच समस्या देखिएको थियो । दीपक पौडेललाई टिकट दिइएको टिकट खोसेर फेरि कृष्ण थापालाई दिइएको थियो । पोखरा महानगरको चुनाव भने एकीकृत समाजवादीका धनराज आचार्यले जितेका छन् ।
पोखरा जतिको नभएपनि काठमाडौं महागनर पालिकामा पनि नेताहरुको असन्तुष्टि सार्वजनिक भएका छन् । चुनाव हुनु केही दिन अगाडि मात्रै राम्रो पकड भएका रामवीर मानन्धरले चुनाव जित्न नसकिने सार्वजनिक असन्तुष्टि दिएका थिए । अन्य स्थानमा पनि पार्टीभित्रको असन्तुष्टि सार्वजनिक भइरहेका छन् । लगातार चुनाव जित्दै आएको धरान उपमहागनर पालिकामा यसपटक नजित्नुमा पनि अन्तर्घात भएको निष्कर्ष निकालिएको छ ।
यो समाचार मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित रहेको छ ।