ढाका जन्य कपडाको प्रयोग र माग बढी रहेता पनि स्थानीय स्तरमा उत्पादन नहुदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ ।
ढाका जन्य कपडा मार्फत स्थानीयलाई स्वरोजगार बनाई आयआर्जनको माध्यम बनाउन ककनी गाउँपालिकाको उद्योग विकास शाखाले वडा नम्बर ८ मा ढाका बुनाई तालिम संचालन गरिरहेको छ । गरिवि निवारणको लागि लघु उद्यम कार्यक्रम अन्तर्गत रहेर ढाका बुनाई तालिम संचालन गरिरहेको उद्योग विकास शाखा प्रमुख सुनिल आचार्यले बताउनुभएको छ । उहाँको अनुसार तालिममा १३ जना आदिवासी तथा जनजाती महिलाहरु सहभागि रहेका छन् । केही दिन अघि खेखि सुरु भएको तालिममा ७ वटा तान मार्फत सहभागिले ढाका बुनाई सिकिरहेका छन् । ४५ दिन सम्म संचालन हुने तालिम मार्फत निर्माण गरिएको ढाकाको सामाग्री ८० प्रतिसत छुटमा सहभागीलाई नै प्रदान गरिने शाखा प्रमुख आचार्यले बताउनुभएको छ । ढाका बुन्ने प्रविधिको अभावमा तालिमका सहभागीहरुले सिपको सदुपयोग गर्न नसक्ने भएकोले प्रविधि समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभएको छ ।
स्थानीयको मागको आधारमा वडा नम्बर ८ मा ढाका बुनाई तालिम संचालन गरिरहेको र केही दिनमा वडा नम्बर ६ मा समेत सुरु गरिने बताइएको छ । गरिवि निवारणको लागि लघु उद्यम कार्यक्रम अन्तर्गत रहेर उद्योग विकास शाखाले विभिन्न सिपमुलक तालिमहरु संचालन गरिरहेको छ । तालिममा सहभागीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरणमा सहयोग पुराउने उदेस्यले वडा नम्बर ४ स्थित रानीपौवामा कोशेली घर निर्माण भइरहेको छ । उद्यमीहरुले सामाग्री उत्पादन गरेको खण्डमा बजारको समस्या भोग्न नपर्ने समेत उहाँले बताउनुभएको छ ।