काठमाडौं, तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा ‘शुभम् अन्तर्राष्ट्रिय अस्पताल’ पूर्ण क्षमतासहित सञ्चालनमा आएको छ। बिहीबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले अस्पतालको उद्घाटन गर्दै सबै नागरिकले सजिलै स्वास्थ्य सेवा पाउने गरी अघि बढ्न सुझाव दिएका छन्।
कार्यक्रममा बोल्दै डा. यादवले अस्पतालले भुईँ तहका नागरिकदेखि वीआईपीसम्म सबैलाई समानरुपमा सेवा दिन सक्ने विश्वास व्यक्त गरे। उनले आफू क्यान्सर रोगी भएको अनुभव सुनाउँदै भविष्यमा उपचारका लागि आउँदा गुणस्तरीय सेवा पाउने आशा व्यक्त गरे। साथै उनले लगानीकर्तालाई नाफाभन्दा बढी जनसेवामा केन्द्रित हुन आग्रह गरे।
त्यसैगरी पूर्वस्वास्थ्य मन्त्री एवं कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्राइवेट संस्थाको रूपमा भए पनि ‘शुभम्’ ले समुदायमुखी सेवा दिनुपर्नेमा जोड दिए। उनले नाम मात्र अन्तर्राष्ट्रिय नभई कार्यसमेत अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने धारणा राखे।
अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. केदार नरसिंह केसीका अनुसार करिब १५ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस अस्पतालले सुरुवाती चरणमा आकस्मिक, ल्याब, ओपीडी र फार्मेसी सेवा मात्र सञ्चालन गरेको थियो। अहिले भने यसले २४ घण्टा आपतकालीन सेवा, आन्तरिक तथा बाह्य रोगी सेवा, अत्याधुनिक ल्याब, फार्मेसी, शल्यक्रिया, आइसीयू, इसडियू, एक्स–रे, इको, अल्ट्रासाउन्ड, कोलोनोस्कोपी तथा इन्डोस्कोपी जस्ता सुविधा प्रदान गर्नेछ।
अस्पतालले तारकेश्वर आसपासका बासिन्दासँगै नुवाकोट, धादिङ, रसुवा, लमजुङ लगायत काठमाडौं नजिकका जिल्लाका नागरिकलाई समेत लक्षित गरी स्वास्थ्य सेवा दिने उद्देश्य राखेको जनाएको छ ।