नुवाकोट, विदुर ।
देशव्यापी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायत संवेदनशील सरकारी तथा निजी संरचना जलाइएका घटनालाई इतिहासले कालो अक्षरले लेख्नेछ भन्ने धारणा नेपाली कांग्रेसका नेता डा. केदार नरसिंह केसीले व्यक्त गरेका छन्।
विदुरस्थित आफ्नो निजी निवासमा गरिएको आगजनीबारे बोल्दै डा. केसीले रोष वा चित्त दुखाउने भावनामा होइन, आश्चर्यका साथ केही प्रश्नहरू सार्वजनिक गरेका छन्।
“विशुद्ध सेवाको पवित्र भावनाले बनेको सेवा–मन्दिरमा आगो लगाउँदा, निर्दोष संरचना खरानी बनाएर आन्दोलनको बाञ्छित उद्देश्य कसरी पूरा हुन्छ?” भन्ने प्रश्न उनले उठाएका छन्।
उनको भनाइमा, उक्त घर साधारण निजी निवास मात्र नभई सात दाजुभाइको सामूहिक सहयोगले बनेको सेवाकेन्द्र थियो। यसै घरमार्फत जिल्लावासीसँग भेटघाट गर्ने, दुःख–सुख सुन्ने, जात, धर्म वा विचारधारा नभनी सहयोग गर्ने, र निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने कार्य हुँदै आएको थियो।
डा. केसीले स्मरण गरे,
“कहिलेकाहीं हामीमध्ये कसैले आग्रह वा पूर्वाग्रह देखाउँदा पनि दाजु अर्जुन नरसिंह केसीले त्यस्तो हुन दिनु भएन। उहाँ र भाउजूले सधैं पाहुनालाई खुवाएपछि मात्र खान बस्ने संस्कार कायम गर्नुभएको थियो।”
आगजनीलाई आन्दोलनकारीले गरेको अप्रिय कार्य भन्दै उनले थपे –
“हामिलाई निरुत्साहित गर्न खोजिएको भए त्यो असफल हुनेछ। ६५ वर्षको राजनीतिक यात्रामा जित–हार धेरै पटक भोगेका छौं, तर कहिल्यै विचलित भएका छैनौं। केही कठिनाई भए पनि सेवाभावलाई निरन्तरता दिनेछौं।”
उनले घटनामा संलग्न दोषीहरूको पहिचान भइसकेको जानकारी दिँदै, मित्रता, सद्भाव, प्रेम र सहयोग भविष्यमा पनि यथावत रहने स्पस्ट पारेका छ्न ।