नुवाकोट, देउराली — ७A साइड छैटौं देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि न्यु भिजन युवा क्लब महादेवफाटले जितेको छ। गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका थिए।
फाइनल खेलमा न्यु भिजन युवा क्लब महादेवफाटले आयोजक कन्चना देउराली युवा क्लब दुइपिपललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

विजेता क्लबलाई आयोजक समितिको तर्फबाट १ लाख रुपैयाँ नगद, मेडल, ट्रफी, र प्रमाणपत्रसहित बेलकोटगढी नगरप्रमुख जगतबहादुर गुरुङबाट २५ हजार रुपैयाँको व्यक्तिगत पुरस्कार प्रदान गरिएको थियो। उपविजेता क्लबले ५० हजार रुपैयाँ, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गरेको छ।
फाइनल खेलमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा, जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बिजय गुरुङ, माओवादी केन्द्रका युवा नेता नारायण नेपाल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जयराम दाहाल, साथै बेलकोटगढी नगरपालिका वडा नं. ६ र ७ का वडा अध्यक्षहरूको विशेष उपस्थिती रहेको थियो।
कार्यक्रमको समापन सत्रमा अध्यक्ष बिजय गुरुङले दुबै फाइनल टोलीलाई बधाई दिँदै आयोजक क्लब कन्चना देउराली युवा क्लबलाई फुटबल हस्तान्तरण गरेका थिए। उनले यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा फुटबल खेलको विकास र युवामा खेलप्रति रुचि बढाउने विश्वास व्यक्त गरे ।