काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ वृहत एकता महाधिवेशनमा अध्यक्ष पदका बलिया दाबेदार मानिएका रोविन शेरचनले अन्ततः ‘एकता कार्ड’ खेल्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। संस्थाभित्र एकता कायम गर्ने उद्देश्यसहित लिइएको यस निर्णयपछि उनी वरिष्ठ उपाध्यक्ष पदमा चयन भएका छन्।
बद्री केसी र महेश श्रेष्ठको पहलमा एकताको वातावरण बन्दै गएपछि शेरचनले संस्थालाई सबैको साझा र समावेशी बनाउने लक्ष्यका साथ अध्यक्ष दौडबाट पछि हट्ने निर्णय गरेको बताएका छन्।
शेरचनले भने, “‘एक मन, एक संगठन’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाको दीर्घकालीन हित र एकतालाई केन्द्रमा राखेर मैले अध्यक्ष पदको दावेदारीबाट पछि हट्ने निर्णय गरेको हुँ।”
वरिष्ठ उपाध्यक्षमा चयन भएपछि उनले आफूलाई विश्वास र समर्थन गर्ने डेलिगेट्स, अग्रजहरू, अभियन्ताहरू तथा सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेका छन्। साथै, प्राप्त विश्वासले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर संस्थाको एकता, सुदृढता र लक्ष्य प्राप्तिका लागि काम गर्ने प्रेरणा दिएको उल्लेख गरेका छन्।
“यहाँहरूबाट प्राप्त साथ, विश्वास र हौसलाले संस्थाको एकता र सुदृढताका लागि अझ प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा दिएको छ,” उनले भने।
एनआरएनएभित्र देखिएको ध्रुवीकरण अन्त्य गर्दै एकताबद्ध संगठन निर्माण गर्ने प्रयासका रूपमा शेरचनको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ।