नुवाकोट, बिदुर ।
ग्लोबल मोन्टेसोरी विद्या मन्दिर को ३३औँ वार्षिकोत्सव, दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम आज सभ्य एवं भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ ले गर्नुभएको हो।
उद्घाटन मन्तव्य व्यक्त गर्दै मेयर श्रेष्ठले शिक्षालाई समुन्नत समाज निर्माणको आधारस्तम्भका रूपमा व्याख्या गर्नुभएको हो। उहाँले गुणस्तरीय, व्यवहारिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिनुका साथै स्थानीय तहले शैक्षिक पूर्वाधार सुदृढीकरण, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभएको हो। साथै, नगरपालिकाले आगामी दिनमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

कार्यक्रममा बिदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, वडा अध्यक्ष निलमबाबु ढुङ्गेल, दिपक कायस्थ, नुवाकोट उद्योग वाणिज्य संघ का अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा नेपाल पत्रकार महासंघ का अध्यक्ष नवराज सुबेदी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहका अवसरमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गरेका थिए। साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको र दीक्षान्त समारोह समेत सम्पन्न भएको छ ।