• २८ चैत्र २०८२, शनिबार

नुवाकोटमा कांग्रेसभित्र असन्तुष्टि: वडा इकाइ सभापति पदबाट राजीनामा, अझै स्वीकृत भएन

नुवाकोट , बिदुर ,।

नेपाली कांग्रेस नुवाकोटमा देखिएको आन्तरिक असन्तुष्टिबीच विदुर नगरपालिका–१० का वडा इकाइ सभापति रामशरण थपाले दिएको राजीनामा हालसम्म स्वीकृत भएको छैन।

जिल्ला कार्यसमितिलाई बुझाइएको राजीनामापत्रमार्फत उनले पार्टीभित्र देखिएको गुटबन्दी, व्यक्तिवाद र स्वार्थकेन्द्रित प्रवृत्तिप्रति असन्तुष्टि जनाउदै पद त्याग गरेका थिए। तर पार्टीले औपचारिक रूपमा उक्त राजीनामा स्वीकृत नगरेको स्रोतले जनाएको छ।

थापाले आफ्नो पत्रमा विशेष गरी जनप्रतिनिधि तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूमाथि आलोचना गरेका छन्। जनताको सेवामा केन्द्रित हुनुपर्ने नेतृत्व नै व्यक्तिगत स्वार्थ, पद र लाभमा अल्झिँदा संगठन कमजोर बन्दै गएको उनको भनाइ छ। साथै, उनले यस्ता प्रवृत्तिका कारण “जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएकाहरू आफू पनि कमजोर बन्दै गएका र पार्टीलाई पनि कमजोर बनाएको” आशय व्यक्त गरेका छन्।

उनका अनुसार, पार्टीभित्र अवसर वितरणमा निष्पक्षता कायम हुन नसक्दा इमान्दार र सक्रिय कार्यकर्तामा निराशा बढेको छ। सीमित समूहलाई बारम्बार प्राथमिकता दिने प्रवृत्तिले संगठनभित्र विभाजन र अविश्वासको अवस्था सिर्जना गरेको उनको दाबी छ।

राजीनामापत्रमा उनले नेतृत्वप्रति समेत प्रश्न उठाउँदै नीति र विचारभन्दा व्यक्तिवाद हाबी भएको, गलत अभ्यासलाई संरक्षण गरिएको तथा संगठन सञ्चालनमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।

यस्तै, उनले जनतामाझ पार्टीप्रतिको विश्वास घट्दै गएको र स्थानीय तहमा अपेक्षाअनुसार काम हुन नसकेको पनि औंल्याएका छन्। जनप्रतिनिधि तथा नियुक्ति पाएकाहरूको कार्यशैलीका कारण पार्टीप्रति नकारात्मक सन्देश गएको उनको निष्कर्ष छ।

नैतिक आधारमा पदबाट अलग हुने निर्णय लिएको बताए पनि पार्टीले हालसम्म राजीनामा स्वीकृत नगरेपछि विषयले थप चर्चा पाएको छ। यस घटनाले नुवाकोट कांग्रेसभित्र थप बहस र तरंग सिर्जना गर्ने आकलन गरिएको छ भने जिल्ला नेतृत्वको औपचारिक प्रतिक्रिया आउन बाँकी छ





प्रतिक्रिया दिनुहोस्