नुवाकोट, तारकेश्वर ।
नुवाकोटको तारकेश्वर गाउँपालिकाले नयाँ शैक्षिक सत्रलाई प्रभावकारी बनाउने उद्देश्यसहित शैक्षिक संस्थाहरूका लागि चार बुँदे निर्देशन जारी गरेको छ। गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले संघीय सरकारको सातामा दुई दिन बिदा दिने नीतिप्रति असहमति जनाउँदै विद्यालयहरू आइतबार पनि सञ्चालन गर्न निर्देशन दिएका हुन्।
गाउँपालिकाले तयार पारेको वार्षिक शैक्षिक क्यालेण्डर कार्यान्वयनकै क्रममा आएको संघीय निर्णयका कारण उत्पन्न अन्योललाई सम्बोधन गर्न यो निर्देशन जारी गरिएको अध्यक्ष अधिकारीले बताएका छन्।

निर्देशनअनुसार वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यालयहरूमा नियमित पठनपाठनको सट्टा विभिन्न सिर्जनात्मक तथा विद्यार्थीकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। यस अवधिमा ‘बुक फ्री डे’ अन्तर्गत हुने गतिविधिहरू, अतिरिक्त क्रियाकलाप, मनोरञ्जन, मनोपरामर्श, सीप विकास, योग तथा ध्यानसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ।
त्यसैगरी, यही अवधिमा शिक्षकहरूबीच सामूहिक छलफल, शैक्षिक सीप आदानप्रदान तथा नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण गरिनेछ।
गाउँपालिकाले वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम सञ्चालन गरी वैशाख २१ गतेदेखि नियमित कक्षा सुरु गर्ने निर्णय गरेको छ।
अध्यक्ष अधिकारीका अनुसार हालकै अवस्थामा सातामा दुई दिन विद्यालय बन्द गर्दा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा नकारात्मक असर पर्ने देखिएको छ। संघीय सरकारको निर्णय इन्धन बचतमा केन्द्रित भए पनि गाउँपालिकाभित्र विद्यालय सञ्चालन गर्दा इन्धन खपतमा खासै प्रभाव नपर्ने उनको तर्क छ। त्यसैले शनिबार मात्र बिदा दिई आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।
तर, विद्यालय बाहेकका सरकारी कार्यालयहरूमा भने संघीय सरकारकै नीति लागू हुने जनाइएको छ। ती कार्यालयहरू सातामा दुई दिन बन्द रहने र अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछन्।
गाउँपालिकाले शिक्षा शाखा तथा सबै विद्यालयका प्रधानाध्यापकलाई निर्देशनको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ भने अनुगमनका लागि गाउँ प्रहरीलाई समेत परिचालन गरिने जनाएको छ ।