नुवाकोट, किस्पाङ।
किस्पाङ गाउँपालिका–२ फिकुरी (साविक वडा नं ५ र ६) क्षेत्रमा अज्ञात व्यक्तिहरूले धाराको टुटी र सकेट चोरी गरेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। रातिको समयमा भएको उक्त चोरीका कारण गाउँका करिब २०–२५ घरधुरीमा खानेपानी आपूर्तिमा अवरोध भएको छ।
स्थानीयवासी शिव भट्टका अनुसार, केही दिनअघिदेखि क्रमशः धारा जडान तथा मर्मतका क्रममा रहेका ठाउँहरूमा चोरी भएको हो। उनले भने,
“राति धारा खुल्ला हुँदा ट्याङ्कीमा रहेको पानी खेर गएको छ र अहिले गाउँमा खानेपानीको अभाव देखिएको छ। यस्तो कार्य अत्यन्तै निन्दनीय र गैरजिम्मेवारपूर्ण हो।”
धाराको टुटी र सकेट चोरीका कारण ट्याङ्कीमा जम्मा भएको पानी सकिँदा स्थानीयवासीलाई दैनिक प्रयोजनका लागि पानी व्यवस्थापनमा कठिनाइ भोग्नु परेको छ।
उक्त धारा परियोजना वडा नं २ का वडा अध्यक्ष बद्री देवकोटाको सक्रियतामा निर्माण सम्पन्न गरिएको हो। गाउँमा वर्षौंदेखि पानीको समस्या समाधानका लागि अध्यक्ष देवकोटाको पहलमा सो खानेपानी योजना सञ्चालनमा आएको थियो।
घटनापछि अध्यक्ष देवकोटाले तत्काल अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन्। उनले भने,
“अनुसन्धान अन्तिम चरणमा पुगेको छ। यस्तो कुकर्म गर्ने जो कोही भए पनि कानूनी दायरामा ल्याई कडा कारबाही गरिनेछ। गाउँमा यस्ता गैरकानूनी कार्य दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइनेछ।”
धाराको टुटी र सकेट चोरीसँगै गाउँमा असुरक्षाको वातावरण सिर्जना भएको छ। स्थानीयहरूले राति गस्ती र सामुदायिक सतर्कता बढाउनुपर्ने माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले गाउँमा यस्ता कार्यहरूलाई रोक्न प्रहरी र गाउँपालिका दुवैको सक्रियता आवश्यक रहेको बताएका छन्। उनीहरूले चोरी गर्ने व्यक्तिहरूलाई तत्काल पक्राउ गरी उदाहरणीय सजाय दिन सरकारसँग माग समेत गरेका छन् ।