• २८ भाद्र २०८३, आईतवार

नुवाकोटमा प्रथम खेलकुद, सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

खेलकुदको विकास र विस्तारका लागि नुवाकोटको कोलोनीमा आयोजित प्रथम नुवाकोट खेलकुद, सांस्कृतिक तथा पर्यटन महोत्सव भव्य रूपमा सुरु भएको छ। शुक्रबार विशेष कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरिएको हो।

“नुवाकोटको शक्ति, खेलकुद र संस्कृति” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामातामाङ ले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले खेलकुदको विकास, विस्तार तथा खेलाडीहरूको पहिचान र प्रवर्द्धनका लागि यस्ता महोत्सव अत्यन्त उपयोगी हुने बताउनुभयो।

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा विदुर नगरपालिका–९, कोलोनीस्थित खेलकुद विकास समितिको परिसरमा सञ्चालन भइरहेको महोत्सवको उद्देश्य जिल्लाको खेलकुद, संस्कृति र पर्यटनको समग्र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङ का अनुसार, महोत्सवले खेलाडीहरूको पहिचान, प्रवर्द्धन तथा युवा वर्गलाई सक्रिय सहभागितामा समेट्ने मुख्य लक्ष्य लिएको छ। उहाँले खेल गतिविधिको वृद्धि र व्यवस्थित विकासका लागि नुवाकोटमा पहिलोपटक यस्तो व्यापक खेलकुद महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो।

गुरुङका अनुसार खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता अभिवृद्धि तथा जिल्लामा रहेका प्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित खेल उत्सव आयोजना गरिएको हो। यस्ता कार्यक्रमले खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै आत्मविश्वास वृद्धि र भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ लगायतले खेलकुदले मानव जीवनलाई सकारात्मक दिशा दिने भएकाले यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा राख्नुभयो।

महोत्सवमा फुटबल, भलिबल, कराते लगायत विभिन्न प्रतिस्पर्धात्मक खेलहरू, खेल उद्यान, साहसिक खेल गतिविधि, सांस्कृतिक कार्यक्रम तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विविध आकर्षणहरू समावेश गरिएका छन्।

त्यस्तै, महोत्सव स्थलमा होटल, स्थानीय उत्पादन तथा सामग्रीसम्बन्धी ३० वटा विशेष स्टल राखिएका छन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने पनि आयोजक समितिले जनाएको छ। महोत्सवका प्रत्येक दिन खेल गतिविधि, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादन र परिकारको बजारीकरणलाई प्राथमिकता दिइनेछ




प्रतिक्रिया दिनुहोस्