• २० भाद्र २०८३, शनिबार

ज्येष्ठ नागरिकको स्वास्थ्यमा बद्री देवकोटाको पहल, वडामै पुग्यो निःशुल्क औषधी

नुवाकोट — किस्पाङ गाउँपालिका–२ फिकुरीका ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई वडा कार्यालयमै बोलाएर नियमित आवश्यक औषधि वितरण गरिएको छ।

वडा अध्यक्ष बद्री प्रसाद देवकोटाको पहल तथा गाउँपालिकाको समन्वयमा प्राप्त औषधि वडाभित्रका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई वितरण गरिएको हो। नियमित औषधि सेवन गर्नुपर्ने तर आर्थिक तथा भौगोलिक कारणले सहज रूपमा औषधि प्राप्त गर्न नसक्ने नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

औषधि लिन वडा कार्यालय पुगेका ज्येष्ठ नागरिकले आफ्नै वडाबाट आवश्यक औषधि निःशुल्क पाउँदा सहज भएको बताएका छन्। उनीहरूले जनप्रतिनिधिले नागरिकको स्वास्थ्य समस्यालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै खुसी व्यक्त गरेका छन्।

वडा अध्यक्ष देवकोटाले वडाका नागरिकको आधारभूत स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। उनका अनुसार नागरिकलाई सेवा लिन कार्यालय धाउनुपर्ने मात्र होइन, उनीहरूको आवश्यकता पहिचान गरेर स्थानीय तहबाटै सेवा उपलब्ध गराउनु जनप्रतिनिधिको जिम्मेवारी हो।

गाउँपालिकाको समन्वयमा प्राप्त औषधि वडामार्फत लक्षित नागरिकसम्म पुर्‍याउने पहलले स्थानीय सरकारप्रति नागरिकको भरोसा बढाएको स्थानीयको भनाइ छ। कार्यक्रमबाट वडाभरिका ज्येष्ठ नागरिक तथा दीर्घरोगी लाभान्वित भएका छन् ।




प्रतिक्रिया दिनुहोस्