• २८ आश्विन २०८३, बुधबार

कांग्रेसको जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङको फराकिलो जित, ३२४५ मत प्राप्त

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा आदिवासी जनजाति सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ भारी मतान्तरसहित विजयी भएका छन्।

लामाले कुल ३ हजार २४५ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरलाई १ हजार ७९९ मतले पछि पारेका हुन्। घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गर्दा तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।

यसैबीच, आदिवासी जनजातितर्फ महिला र खुला समूहको नतिजासमेत सार्वजनिक भएको छ। जनजाति महिलातर्फ ३४ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा आठ जना निर्वाचित भएका छन्। खुलातर्फ भने १२ पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

महिलातर्फ निर्वाचित उम्मेदवार

निर्वाचन समितिका अनुसार महिलातर्फ गीता गुरुङले सर्वाधिक २ हजार ८५९ मत प्राप्त गरेकी छन्। त्यस्तै डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बुले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

खुलातर्फ तीर्थ लामा सर्वाधिक मतसहित विजयी

आदिवासी जनजातितर्फ खुला समूहमा तीर्थ लामाले सर्वाधिक ४ हजार ४२५ मत प्राप्त गरेका छन्। त्यसैगरी ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीश मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामसँगै नेपाली कांग्रेसको आदिवासी जनजाति समूहका विभिन्न पदमा निर्वाचित हुने उम्मेदवारहरूको टुंगो लागेको छ।