• २१ कार्तिक २०८३, शुक्रबार

बागमतीमै उत्कृष्ट बन्यो नुवाकोट आयुर्वेद चिकित्सालय

नुवाकोट । आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवाको विस्तार र व्यवस्थापनमा नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती प्रदेशमै उत्कृष्ट घोषित भएको छ। आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्याङ्कनमा ७२.५ प्रतिशत अंक प्राप्त गर्दै चिकित्सालय प्रदेशका समान प्रकृतिका स्वास्थ्य संस्थामध्ये पहिलो बनेको हो।

स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीमा सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा संस्थागत व्यवस्थापनलगायतका सूचकका आधारमा गरिएको मूल्याङ्कनमा चिकित्सालयले पहिलो स्थान हासिल गरेको हो।

प्रदेशस्तरीय मूल्याङ्कनमा उत्कृष्ट ठहरिएको चिकित्सालय भोटेकोशी बाढीपछिको स्वास्थ्य प्रतिकार्यमा योगदान पुर्‍याएको भन्दै प्रदेश सरकारबाट सम्मानितसमेत भएको छ। विपद्का बेला प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा व्यवस्थापन, समन्वय र प्रतिकार्यमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै चिकित्सालयलाई सम्मान गरिएको हो।

२५ शय्याको जिल्ला स्तरीय चिकित्सालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिमार्फत उपचारात्मक, पुनर्स्थापनात्मक र रोग रोकथामसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। पञ्चकर्म, अकुपञ्चर, प्रयोगशाला परीक्षण, विशेषज्ञ आयुर्वेद सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम चिकित्सालयका प्रमुख सेवामध्ये हुन्।

चिकित्सालयले जिल्लाका सात आयुर्वेद औषधालय र चार नागरिक आरोग्य सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गरेको छ। चिकित्सालयका अनुसार यहाँबाट वार्षिक करिब एक लाख सेवाग्राहीले स्वास्थ्य सेवा लिँदै आएका छन्।

चिकित्सालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले प्रदेशस्तरमा प्राप्त उपलब्धि कर्मचारी, व्यवस्थापन समिति, सेवाग्राही, स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले प्राप्त सम्मानले सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन प्रेरणा मिलेको उल्लेख गरे।

सेवाको दायरा र सेवाग्राहीको संख्या बढ्दै गए पनि पर्याप्त औषधि, दक्ष जनशक्ति र बजेट व्यवस्थापन चिकित्सालयका लागि चुनौतीका रूपमा रहेका छन्। प्रदेशस्तरको उत्कृष्टताले जिल्लामा आयुर्वेद स्वास्थ्य सेवाको सम्भावना उजागर गरे पनि त्यसलाई दिगो बनाउन स्रोतसाधन र पूर्वाधारमा थप लगानी आवश्यक देखिएको छ।