नुवाकोट — नेपाली कांग्रेसको आन्तरिक निर्वाचनमा खुला उपसभापति पदका उम्मेदवार रबिन्द्र रिजाल सर्वाधिक २४२ मत प्राप्त गर्दै निर्वाचनकै चर्चित र प्रभावशाली विजेताका रूपमा उदाएका छन्। विभिन्न पदका उम्मेदवारहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गरेपछि कार्यकर्तामाझ उनलाई “म्यान अफ द इलेक्सन” का रूपमा चर्चा गर्न थालिएको छ।
विगत एक दशकदेखि पार्टी संगठनमा निरन्तर सक्रिय रिजालले चुनावी मैदानमा प्राप्त गरेको मत परिणामलाई केवल व्यक्तिगत विजय मात्र नभई कार्यकर्तासँगको सम्बन्ध, निरन्तरको मेहनत र संगठनप्रतिको समर्पणको प्रतिफलका रूपमा हेरिएको छ। निर्वाचनअघि नै युवापुस्ताको बलियो साथ पाएका रिजालले मतगणनाको अन्तिम परिणाममा समेत आफ्नो लोकप्रियता प्रमाणित गरेका छन्।
पार्टीका हरेक अभियान, आन्दोलन र संगठन निर्माणका गतिविधिमा अग्रसर रहँदै आएका रिजाललाई युवा पुस्ताले आफ्नो प्रतिनिधिका रूपमा स्वीकार गरेको देखिएको छ। यही कारण निर्वाचनमा उनले प्राप्त गरेको मत संख्या अन्य उम्मेदवारहरूको तुलनामा उल्लेखनीय रह्यो।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि कार्यकर्ता भेलासम्म रबिन्द्र रिजालको चर्चा छाएको छ। कार्यकर्ताहरूले उनको विजयलाई युवाको आवाजको जित, मेहनतको सम्मान र संगठनभित्र नयाँ पुस्ताप्रतिको विश्वासको सन्देशका रूपमा व्याख्या गरेका छन्।
एक दशकदेखि पार्टीका लागि निरन्तर खटिएका रिजालले प्राप्त गरेको यो जनसमर्थनले आगामी दिनमा उनको राजनीतिक भूमिका अझ सशक्त बन्ने संकेत दिएको छ।