नुवाकोट। गत भदौ १० गते भोटेकोसीबाट त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण घरपरिवार र सम्पत्तिसमेत गुमाएका एकल महिलाहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
व्यवसायी रमेश श्रेष्ठको पहलमा जर्मनीबाट प्राप्त नगद जनही १० हजार रुपैयाँ दरले सामाजिक अभियन्ता सगुन राजभण्डारीको सहजीकरणमा नुवाकोट उद्योग वाणिज्य संघको हलबाट बाढीपीडित एकल महिलाहरूलाई वितरण गरिएको हो।
आफैँ पनि बाढीबाट प्रभावित भएर पीडाको अनुभव गरेका सामाजिक अभियन्ता सगुन राजभण्डारीले आफ्नो अवस्थाका बाबजुद अन्य पीडितको दुःखमा साथ दिँदै सहयोग वितरणमा सहजीकरण गरेका हुन्। आफ्नै पीडाका बीच अरूको दुःखमा साथ दिनु मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण हो।
व्यवसायी रमेश श्रेष्ठको पहलमा जर्मनीबाट उपलब्ध भएको सहयोगले बाढीका कारण कठिन परिस्थितिमा जीवन बिताइरहेका एकल महिलाहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
यस मानवीय सहयोगका लागि सहयोग जुटाउने व्यवसायी रमेश श्रेष्ठ, सहयोगदाता सिबिली एण्ड डोनर्स, जर्मनी तथा वितरण कार्यमा सहजीकरण गर्ने सामाजिक अभियन्ता सगुन राजभण्डारीप्रति आभार व्यक्त गरिएको छ।