विदुर, नुवाकोट । गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विदुर–२ नुवाकोटले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सहकारीले जारी गरेको विज्ञप्तिअनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको, कैयौँ नागरिकको ज्यान गएको तथा केही अझै बेपत्ता रहेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
संस्थाले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा बेपत्ता नागरिकका परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ।
विपद्को यस कठिन घडीमा एकता, सहकार्य र मानवीय संवेदनाको खाँचो औँल्याउँदै प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सघाउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ जम्मा गरिएको सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डित र व्यवस्थापक हरिवंश ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
सहकारीले विपद् प्रभावित क्षेत्रका नागरिकको शीघ्र पुनःस्थापना तथा जनजीवन सामान्य बन्ने कामना समेत गरेको छ।