• १७ भाद्र २०८३, बुधबार

गल्छीमा अस्पताल उठाए, अब नुवाकोट–रसुवाका भग्नावशेष पन्छाउँदै तरुण दल

धादिङ — गत भदौ १० गतेको भीषण बाढीले पूर्ण रूपमा डुबानमा परी अस्तव्यस्त बनेको गल्छी अस्पताललाई पुनः सञ्चालनयोग्य बनाउन नेपाल तरुण दलले थालेको सरसफाइ तथा पुनःस्थापना अभियान पाँचौँ दिनमा सम्पन्न गरेको छ।

बाढीपछि अस्पताल परिसरमा थुप्रिएको हिलो, फोहोर र भग्नावशेषका कारण स्वास्थ्य सेवा सञ्चालनमै समस्या उत्पन्न भएपछि तरुण दलका स्वयंसेवकहरू पाँच दिनसम्म निरन्तर श्रममा जुटेका थिए। अस्पताल परिसर सफा गर्ने, अवरोध हटाउने र सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन मिलाउने काममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालासहितको टोली प्रत्यक्ष रूपमा खटिएको थियो।

विपद्को समयमा राहत वितरणसँगै अत्यावश्यक सार्वजनिक संरचनाको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने भन्दै तरुण दलले अस्पताल पुनःस्थापनाको अभियान अघि बढाएको जनाएको छ। पाँच दिनको अभियानपछि अस्पताललाई सम्बन्धित निकायको जिम्मा लगाइएको तरुण दलले जनाएको छ।

गल्छी अस्पतालको पुनःस्थापना अभियान सम्पन्न गरेसँगै तरुण दलले अब बाढीबाट बढी प्रभावित नुवाकोट र रसुवामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ। तरुण दल नुवाकोटका अध्यक्ष दिल तामाङ घिसिङका अनुसार नुवाकोटको ढुङ्गे र बेत्रावती क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउन ‘तरुण फोर्स’ परिचालन गरिनेछ।

नुवाकोट र रसुवामा पनि स्वयंसेवक परिचालनको सम्पूर्ण तयारी भइरहेको छ। ढुङ्गे र बेत्रावतीमा थुप्रिएको भग्नावशेष हटाउन तरुण फोर्स परिचालन गर्छौं। हामी नेतृत्व मात्र गर्ने होइन, आफैं फिल्डमा खटिएर काम गर्नेछौँ,” घिसिङले भन्नुभयो।

बाढीले सडक, पुल, बजार तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्‍याएका कारण प्रभावित क्षेत्रमा पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेका बेला तरुण दलले स्थानीय तहसँग समन्वय गरी स्वयंसेवक परिचालन गर्ने तयारी गरेको हो।

गल्छी अस्पतालमा पाँच दिनसम्म सञ्चालन गरिएको अभियानले विपद्पछिको पुनःस्थापनामा राजनीतिक संगठनका स्वयंसेवकलाई परिचालन गर्न सकिने उदाहरणसमेत प्रस्तुत गरेको तरुण दलका नेताहरूको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्