• ७ आश्विन २०८३, बुधबार

सेवाबाट कोही नछुटून् : वडा अध्यक्ष देवकोटाको घरदैलो अभियान चर्चामा

नुवाकोट । नागरिकलाई सहज रूपमा सामाजिक सुरक्षा सेवा उपलब्ध गराउने उद्देश्यले किस्पाङ गाउँपालिका–२ ले उदाहरणीय अभियान सञ्चालन गरेको छ। वडा कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घरदैलोमै पुगेर सेवा प्रदान गरिएको छ भने काठमाडौं तथा अन्य स्थानमा बसोबास गरिरहेका लाभग्राहीहरूको समेत खोजी गरी नवीकरण प्रक्रिया अघि बढाइएको छ।

वडा अध्यक्ष बद्री देवकोटा र वडा सचिवको सक्रिय पहलमा सञ्चालित अभियानमार्फत विपत्को कठिन परिस्थितिमा समेत लाभग्राहीहरूलाई सेवा पहुँचबाट वञ्चित हुन नदिने प्रयास गरिएको हो। घरमै पुगेर विवरण संकलन, आवश्यक कागजात व्यवस्थापन तथा नवीकरण प्रक्रियामा सहजीकरण गरिएपछि सेवाग्राही र उनका परिवारजन उत्साहित बनेका छन्।

काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गरिरहेका लाभग्राहीहरूको समेत सम्पर्क, खोजी तथा समन्वय गरी सामाजिक सुरक्षा भत्ता नवीकरण सुनिश्चित गर्न वडाले विशेष पहल गरेको जनाएको छ। यसबाट कुनै पनि पात्र लाभग्राही सेवा सुविधाबाट वञ्चित नहोस् भन्ने उद्देश्य रहेको वडा अध्यक्ष देवकोटाले बताए।

स्थानीयवासीले जनप्रतिनिधि र कर्मचारीको यस्तो सक्रियतालाई नागरिकमैत्री तथा जिम्मेवार अभ्यासको रूपमा लिँदै प्रशंसा गरेका छन्। विपत्को समयमा समेत सेवाग्राहीको घरदैलोमा पुगेर सेवा प्रवाह गरिएको यो अभियानलाई किस्पाङ–२ मा प्रभावकारी स्थानीय शासनको उदाहरणका रूपमा हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्