नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले मृत्यु भएको ठानेर काजकिरिया सुरु गरेको ११औँ दिनमा जीवितै उद्धार गरिएको छ।
बाढीले घरसहित बगाएकी नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट अर्धचेत अवस्थामा उद्धार गरेको हो।
आठ दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि परिवारले कुशको शव बनाएर काठमाडौंको सानो भर्याङस्थित घरमा काजकिरिया सुरु गरेको थियो। तर, ११औँ दिनमा जीवितै भेटिएको खबर आएपछि परिवारमा खुसी छाएको छ।

बाढी आउँदा चण्डिका र उनका श्रीमान् घरभित्रै थिए। बाढीले साढे चार तल्लाको घर नै उखेलेर बगाएको थियो। उद्धारपछि चण्डिकालाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक पुर्याएर प्रारम्भिक उपचार गरिएको थियो। हाल उनको काठमाडौंस्थित छाउनी सैनिक अस्पतालमा उपचार भइरहेको छ।
‘आशा मारिसकेका थियौँ, तर मनले एकपटक फेरि खोजौँ भनिरहेको थियो,’ उनका सम्धी रमेशमान श्रेष्ठले भने, ‘जीवित भेटिएको खबर पाएपछि भगवान् साँच्चै रहेछन् जस्तो लाग्यो।