• २० भाद्र २०८३, शनिबार

बाढीले बाटो रोक्दा घ्याङ्फेदीका युवा बने यात्रुका सहारा

नुवाकोट । भोटेकोसी बाढीका कारण धुन्चे हुँदै आउने सडक अवरुद्ध भएपछि गोसाइँकुण्डबाट फर्किएका यात्रुका लागि दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका युवाहरू सहारा बनेका छन्।

घ्याङ्फेदीका विभिन्न टोल सुधार समितिमा आबद्ध युवाहरूले गोसाइँकुण्डबाट दुप्चेश्वर हुँदै फर्किएका यात्रुलाई बाटोमै निःशुल्क खाना खुवाउनेदेखि फसेका यात्रुको उद्धारसम्मका मानवीय काम गरिरहेका छन्। बाढीका कारण आवागमन प्रभावित भएपछि अलपत्र परेका यात्रुलाई उनीहरूले सुरक्षित स्थानसम्म पुर्‍याउने तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएका छन्।

युवाहरूले यात्रुको स्वास्थ्य अवस्थालाई समेत प्राथमिकतामा राख्दै स्वास्थ्य शिविर सञ्चालन, बिरामीको उद्धार तथा आवश्यक परेका बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाएका छन्।

गोसाइँकुण्डबाट फर्किने क्रममा सडक अवरुद्ध भएर समस्यामा परेका यात्रुलाई स्थानीय युवाको सक्रियताले ठूलो राहत पुगेको छ। प्राकृतिक विपत्तिका बेला सरकारी संयन्त्रको भर मात्रै नपरी स्थानीय युवाहरू आफैँ परिचालन भएर यात्रुको सेवामा जुटेका हुन्।

दुप्चेश्वर गाउँपालिका–१ का टोल सुधार समितिका युवाहरूले आपत्–विपद्मा परेका यात्रुलाई खाना र बसोबासको समेत व्यवस्था मिलाएको तरुण दलका अध्यक्ष दिल घिसिङले बताउनुभयो।

“बाढीका कारण बाटो बन्द भएपछि यात्रुहरू समस्यामा पर्नुभएको छ। यस्तो अवस्थामा मानवीय सहयोग गर्नु हाम्रो दायित्व हो,” घिसिङले भन्नुभयो, “उहाँहरूलाई खान–बस्नदेखि स्वास्थ्य उपचार र उद्धारसम्म आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएका छौँ।”

गोसाइँकुण्ड धार्मिक यात्राबाट फर्किएका यात्रुहरू बाटो अवरुद्ध हुँदा बीचमै अलपत्र पर्ने अवस्था आएपछि स्थानीय युवाको यो अभियानले विपद्का बेला स्थानीय समुदायको मानवीय एकता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको ।




प्रतिक्रिया दिनुहोस्