• १८ भाद्र २०८३, बिहीबार

राजेन्द्र दवाडी : बाढीमा इतिहास रच्ने एउटा शिक्षक

नुवाकोट — भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन बगायो। विद्यालयको भौतिक संरचना क्षणभरमै ध्वस्त भयो। तर, त्यसअघि नै प्रधानाध्यापक राजेन्द्र दवाडीले लिएको एउटा निर्णयले विद्यालयका सयौँ विद्यार्थीलाई सुरक्षित बनाइसकेको थियो।

बाढीको जोखिम बढ्दै गएपछि दवाडीले विद्यालयमा रहेकाविद्यार्थीलाई तत्काल सुरक्षित स्थानतर्फ सार्ने निर्णय लिए। विद्यालयको संरचना र भौतिक सम्पत्तिभन्दा विद्यार्थीको जीवनलाई प्राथमिकता दिएका उनले शिक्षक तथा सम्बन्धित पक्षको सहयोगमा विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्‍याए।

त्यसको केही समयमै बाढीले विद्यालयको भवन बगायो। विद्यालय रहेन, कक्षाकोठा रहेनन्, विद्यार्थीका पढाइका सामग्री रहेनन्। तर विद्यालयभित्र रहेका विद्यार्थी सुरक्षित रहे। दवाडीको नेतृत्वको चर्चा यतिबेला नुवाकोटमा मात्र सीमित छैन। विद्यार्थीलाई समयमै सुरक्षित स्थानतर्फ लैजाने उनको निर्णयलाई देशका सञ्चारमाध्यमसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत प्राथमिकताका साथ प्रस्तुत गरेका छन्।

तर, प्रधानाध्यापक दवाडीको भूमिका विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्‍याएपछि सकिएन। बाढीबाट विस्थापित विद्यार्थीहरूलाई सुरक्षित स्थानमा राखिएपछि उनी दुई दिनसम्म कोलनी क्षेत्रमा विद्यार्थीहरूसँगै बसे। उनीहरूको खानपान र आवश्यक व्यवस्थापनमा आफैँ खटिए। विद्यार्थीलाई खाना र खाजा खुवाउनेदेखि उनीहरूको सुरक्षासम्मको जिम्मेवारी उनले निर्वाह गरे। विद्यालयमा प्रधानाध्यापक रहेका दवाडी विपत्तिका दुई दिन विद्यार्थीका लागि अभिभावक बने। विद्यालयको भवन बाढीले बगाएपछि अब विद्यालय कसरी सञ्चालन गर्ने भन्ने अर्को चुनौती थियो। यही चुनौती लिएर दवाडी काठमाडौं पुगे। उनले भारतीय दूतावास पुगेर नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई विद्यालयमा बाढीले पुर्‍याएको क्षति र पुनःनिर्माणको आवश्यकताबारे जानकारी गराए।

दवाडीसँगको संवादपछि राजदूत श्रीवास्तवले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुनःनिर्माणमा भारत सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन्। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको इतिहास भारतसँग समेत जोडिएको छ। त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा सन् १९५० को दशकमा भारतीय सहयोगमा स्थापना भएको विद्यालयको नयाँ भवनसमेत सन् २०२२ मा भारतको एचआईसिडीपी कार्यक्रमअन्तर्गतको सहयोगमा निर्माण गरिएको थियो। तर निर्माण भएको केही वर्षमै आएको बाढीले विद्यालयको भवन बगाएपछि पुनःनिर्माणको आवश्यकता परेको हो।

विद्यालयको पुनःनिर्माणको प्रतिबद्धतासँगै अब त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय फेरि उठ्ने अपेक्षा गरिएको छ। तर यस विपत्तिले विद्यालयको इतिहासमा एउटा अर्को अध्याय पनि थपेको छ। संकटको समयमा विद्यार्थीको जीवनलाई पहिलो प्राथमिकता दिने प्रधानाध्यापकको नेतृत्वको अध्याय। दवाडीले बाढी आउँदा विद्यार्थी बचाए, विस्थापित विद्यार्थीलाई दुई दिनसम्म खाना र खाजा खुवाउँदै साथ दिए र विद्यालय बगेपछि पुनःनिर्माणका लागि पहल थाले। भौतिक संरचना बाढीले बगाउन सक्यो। तर विद्यार्थीप्रतिको शिक्षकको जिम्मेवारी बगाउन सकेन। यही कारण राजेन्द्र दवाडीको भूमिका अहिले एउटा विद्यालयका प्रधानाध्यापकको भूमिकाभन्दा माथि उठेको छ। विपत्तिको समयमा नेतृत्व कस्तो हुनुपर्छ भन्ने उदाहरणका रूपमा उनको कामलाई हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्