नुवाकोट ।
विजयादशमीको दिनदेखि आज पूर्णिमासम्म यात्रुहरू निरन्तर रूपमा यातायात व्यवसायीको मनोमानी र प्रहरी प्रशासनको लापरबाहीको सिकार बनेका छन्।दशैंमा आफन्त भेट्न निस्किएका सर्वसाधारणले सरकारले तोकेको भन्दा दोब्बर भाडा तिर्न बाध्य भएको गुनासो गरेका छन्।
त्रिशुली, ढुङ्गे, विदुर, बट्टारलगायतका रुटहरूमा चल्ने बस व्यवसायीहरूले कुनै टिकट काउन्टरमार्फत बिक्री नगरी सिधै सडकबाट यात्रु चढाउँदै मनलाग्दी भाडा असुलेका छन्। यात्रुहरूका अनुसार त्रिशुली–काठमाडौं रुटमा सामान्य अवस्थामा ३०० रुपैयाँ पर्ने भाडा अहिले ५०० रुपैयाँसम्म पुगेको छ।
सवारीहरूमा खचाखच यात्रु हालिँदै गर्दा प्रहरीले कुनै पनि ठाउँमा चेकजाँच नगरेको यात्रुहरूको गुनासो छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र प्रहरी प्रशासन दुबै पक्षले आँखामुनि भइरहेको गैरकानुनी क्रियाकलापमा आँखा चिम्लेका छन् भन्ने जनताको आरोप ।
हामीले प्रहरीलाई उजुरी गर्यौं, तर उनीहरूले ‘हेर्छौं’ भन्दै फर्किए,” विदुरका एक यात्रुले बताए।
स्थानीयहरूले भने प्रशासनले यात्रु सुरक्षामा गम्भीर नबन्दा दशैंको खुशी दुःखमा बदलिएको बताएका छन्। उनीहरू भन्छन् “प्रशासनको मौनता मिलेमतोको संकेत हो। यात्रु लुटिँदैछन्, प्रहरी हेरेर बस्दैछ।”
अब पूर्णिमासम्म आइपुग्दा पनि समस्या समाधान नभएपछि यात्रुहरूले तत्काल अनुगमन गरी दोषी व्यवसायीमाथि कारबाही गर्न माग गरेका छन् ।