• १० माघ २०८२, शुक्रबार

त्रिशूली अस्पतालले MSS मूल्याङ्कनमा ८६% अंक हासिल, सेवा सुधारमा प्रगती

नुवाकोट – त्रिशूली अस्पतालले हालै सम्पन्न Minimum Service Standards (MSS) मूल्याङ्कनमा ८६ प्रतिशत अंक हासिल गरेको छ। अघिल्लो मूल्याङ्कनमा अस्पतालको उपलब्धि ८१ प्रतिशत रहेको थियो, यसरी यसपटक ५ प्रतिशतले सुधार भएको छ।

यो नतिजा अस्पतालमै आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रमको अध्यक्षता अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र बुढाथोकीले गरेका थिए। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र लामा, स्वास्थ्यकर्मी, कर्मचारी र सरोकारवालाहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा मदन भण्डारी विज्ञान प्रतिष्ठानका निर्देशक रामचन्द्र सापकोटाले अस्पतालको सेवा प्रवाह, गुणस्तर सूचक र व्यवस्थापनसम्बन्धी प्रगतिको विवरण प्रस्तुत गरे। प्रतिवेदन अनुसार, आपतकालीन सेवामा ८८.७३ प्रतिशत, बाह्य बिरामी सेवामा ८५.७१ प्रतिशत, र आईसीयू सेवामा ८४.८४ प्रतिशत उपलब्धि हासिल भएको छ। भर्ना सेवा, शल्यक्रिया सेवा, प्याथोलोजी तथा रेडियोलोजी सेवामा पनि क्रमिक सुधार देखिएको छ।

सुशासन तथा व्यवस्थापन सूचकमा अस्पतालले ९२ प्रतिशत अंक हासिल गरेको छ। विशेष गरी शासन प्रणालीमा ९६ प्रतिशत, संगठनात्मक व्यवस्थापन, वित्तीय व्यवस्थापन र मेडिकल रेकर्ड व्यवस्थापनमा १०० प्रतिशत अंक प्राप्त भएको छ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र बुढाथोकीले कार्यक्रममा सेवा सुधारमा देखिएको प्रगति उत्साहजनक रहेको बताए। उनले त्रिशूली अस्पताललाई जिल्लाकै नमुना अस्पताल बनाउने लक्ष्यसहित काम भइरहेको पनि बताए।

मेसु डा. राजेन्द्र लामाले MSS स्कोरमा सुधार हुनु अस्पतालको टोलीगत प्रयासको परिणाम भएको उल्लेख गर्दै सेवा गुणस्तर अझ प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा अस्पतालले हालै सुरु गरेका नयाँ सेवाहरू पनि सार्वजनिक गरिएका थिए। यसमा दैनिक ENT OPD सेवा, पोषण पुनःस्थापना केन्द्र, चिकित्सक प्रोफाइल डिस्प्ले, बीमा फार्मेसीका लागि छुट्टै काउन्टर, र प्रयोगशालामा स्वचालित रिपोर्ट वितरण मेसिन सञ्चालनमा आएको जानकारी दिइयो।

त्रिशूली अस्पतालको यो प्रगति नुवाकोटका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ





प्रतिक्रिया दिनुहोस्