• २२ भाद्र २०८१, शनिबार

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज : बलियो भारतविरुद्ध नयाँ इतिहास कोर्ने लक्ष्यमा नेपाल

भदौ, १७ काठमाडौं ।  साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ।

यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने बाँकी ४ बराबरीमा रोकिएको छ। इतिहास जस्तो भए पनि आफूहरुले राम्रो तयारी गरेकाले बराबरीका लागि नभएर जितका लागि खेल्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रिम्याच कन्फ्रेन्समा बताए।

‘हामी तयार छौं। हामी बराबरी खेल्नका लागि नभएर जित्नका लागि खेल्दैछौं। हाम्रो मुख्य लक्ष्य एसिया कप नै हो,’ अलमुताइरीले भने, ‘इतिहासमा हेर्दा हाम्रो भारतसँगको प्रदर्शन राम्रो छैन। फिफा वरीयतामा पनि उनीहरु माथि छन्। उनीहरु बलिया टिम छन्। तर हामी पनि रियल गोर्खाली हो, बराबरीका लागि नभएर जितकै लागि खेल्नेछौं।’

त्यस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा सहज नहुने प्रतिकृया दिए।

उनले एएएसी कप क्वालिफायर्समा त्रिभुवन आर्मी क्लबसँगको खेललाई स्मरण गर्दे पछिल्लो समय नेपालमा युवा खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रतिक्रिया दिए।

‘मैले खेलेका धेरै खेलाडीहरु अहिले टिममा छैनन्। नेपालसँग घरेलु मैदानमा खेल्न कठिन हुनेछ,’ क्षेत्रीले भने।

त्यस्तै भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले साफको तयारीको रुपमा लिएको बताए। उनले आफ्नो तयारीलाई लिएर सबै कुराहरु आदर्श नभएको प्रतिकृया दिए।

‘उनीहरु राम्रो अवस्थामा छन्। नेपालसँग खेल्न सहज हुनेछैन,’ स्टिमाकले भने, ‘हामीले प्रतिस्पर्धी टिमको विश्लेषणा गरेका छौं। मेरो समकक्षीले धेरै मेहेनत गरेका छन्। युवा खेलाडीले अवसर पाएका छन्।’

पछिल्लो पटक नेपाल र भारत सन् २०१७ मा भारतमा मैत्रीपूर्ण खेलमा आमनेसामने भएका थिए जसमा भारतले २-० ले खेल आफ्नो पक्षमा पारेको थियो। त्यसअघि सन् २०१५ मा भएका तीन खेलमध्ये विश्वकप क्वालिफायर्सको पहिलो लेगमा भारतले २-० ले हराएको थियो भने दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो। त्यहीवर्ष साफ च्याम्पियनसिपमा भने भारतले नेपालमाथि ४-१ को फराकिलो जित निकालेको थियो। नेपालले पछिल्लो पटक भारतलाई पराजित गरेको सन् २०१३ को साफ च्याम्पियनसिपमा हो। यद्यपि लगत्तै अर्को मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई हराएको थियो।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले २ महिनाको तयारी भएको भन्दै साफ अघि घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो भएको बताए। ‘यो खेलले हामी कति बलियो छौं भनेर हेर्न मद्धत गर्छ। नतिजा महत्वपूर्ण त हुन्छ तर यो सिरिजबाट हाम्रो कमजोर पक्ष र बलियो पक्ष पत्ता लगाउन सहयोग गर्नेछ,’ कप्तान चेम्जोङले भने, ‘हामी एकदमै मोटिभेट छौं। प्रशिक्षकले ‘बुवा’ को जस्तो भूमिका निभाउनु भएको छ। यसपटक हामी शारीरिक र मानसिक दुबै रुपमा बलिया छौं।’

५ हजार १०० दर्शकलाई दशरथ रंगशालामा खेल हेर्न जाने प्रशासनले अनुमति दिएको नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। यसरी दशरथ रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्य पीसीआर परीक्षण नेगेटिभको रिपोर्ट वा भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्नेछ।

रंगशालामा प्रवेशका लागि सामान्यतर्फ १ हजार र भीआईपीतर्फ २ हजार टिकट शुल्क निर्धारण गरिएको छ। टिकट प्रभुपेबाट गर्न सकिनेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय टीभी र युट्युब च्यानल ओएसआर स्पोर्ट्सले गर्नेछन्।

को को छन् भारतीय टोलीमा?

गोलिकिपर: अरमिन्दर सिंह, धीरज सिंह मोइरंगदेम, गुरप्रीतसिंह संधु

डिफेन्डर: प्रीतम कोटल, चिनग्लेनसना सिंह कोन्सम, मंदार राव देसाइ, आकाश मिश्रा, राहुल वेके, सुभाषिश बेस, सेरिटन फर्नान्डेज

मिडफिल्डर: लालेंगमालिया, बिपिन सिंह, अनिरुद्ध्र थापा, सहल अब्दुल समद, ब्रेन्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वांगजाम, जेकसन सिंह, प्रणय हलदर

फर्वार्डस्: मनभीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुक चौधरी

नेपाली खेलाडी

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुस घलान, बिसाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ





प्रतिक्रिया दिनुहोस्