भदौ, २२ काठमाडौं । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पिएनजीलाई दुई विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
हारतर्फ अग्रसर नेपाललाई जित दिलाउनका लागि रोहित पौडेल र सोमपाल कामीको प्रदर्शन उत्कृष्ट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर एक सय ३४ रन बनायो । उसका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए ।
बलिङतर्फ नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन गुमाएर चार विकेट लिए । यस्तै कुशल मल्ल, बिक्रम सोबले समान दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको नेपालले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरेको थियो । राम्रो सुरुआत गरेपनि सम्हालेर खेल्न नसक्दा खेलमा दबाब व्योहोर्नु पर्यो ।
८२ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको लागि रोहित पौडेल र सोमपाल कामीले धैर्यपूर्वक ब्याटिङ गर्दै खेल जिताए । नेपालले ३९.३ ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
नेपालको लागि रोहितले ६५ बलमा दुई चौकासहित ४१ रन बनाए । यस्तै आसिफ शेखले ४६ बलमा चार चौकासहित ३० रन बनाए । सोमपाल कामीले नटआउट २२ रन बनाए भने ओपनर कुशल भुर्तेलले १५ रन बनाए ।
पपुवा न्युगिनीको लागि गौडी टोकाले तीन विकेट लिए भने डेमियन राभु र चाड सोपरले दुई/दुई विकेट लिए ।