• ३० फाल्गुन २०८२, शनिबार

घरेलु टोली ओमानमाथि नेपालको सानदार जित, कमल ऐरी एक्लैले लिए ३ विकेट

काठमाडौं : ओमानमा जारी टि–२० विश्वकप छनौटमा नेपालले विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराउँदै नेपालले विश्वकप छनोटमा सुखद सुरुवात गरेको हो। १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट भएपछि नेपालले सहजै जित हात पारेको हो।

ओमानका नासिम खुसीले सर्वाधिक २४ रन बनाए पनि अन्य ब्याट्सम्यान नेपालका बलरसामु निरीह सावित हुँदै दोहोरो अंकको रन बनाउन सकेनन्। ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा कप्तान सन्दिप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए।

यस्तै जितेन्द्र मुखिया र अविनाश बोहोराले १/१ विकेट खसाले। यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनमा समेटिएको थियो। नेपालका आरिफ शेखले सर्वाधिक ३८ रनको योगदान गरे। लोकेश बम र सन्दिप लामिछाने १६/१६ रन बनाए।

ज्ञानेन्द्र मल्लले १५ तथा दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। ओमानका खबिर अलीले सर्वाधिक ३ विकेट लिए। बिलाल खानले २ विकेट हात पार्दा फायाज बुट र जसन मक्सदले १/१ विकेट लिए।  

जितसंगै नेपालको सेमिफाइनलको ढोका खुलेको छ। समूह १ मा रहेका ओमान र नेपालमात्र बलियो टोली भएकाले आजको जितपछि नेपालको सेमिफाइनल यात्रा बलियो भएको हो। दुई टोली फिलिपिन्स र क्यानडा नयाँ टिम रहेकाले नेपाललाई सहज हुनेछ भने रनरेट बढाउनसमेत मौका मिल्नेछ। 

प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा भोलि शनिबार नेपालले नवप्रवेशी टोली फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ भने आगामी सोमबार क्यानाडासँग खेल्नेछ। प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा स्थान बनाउनेछन्।

विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) गरी  आठ टोली सहभागी छन्।

जसमध्ये समूह एकमा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।





प्रतिक्रिया दिनुहोस्