काठमाडौँ : पहिलोपटक दशरथ रंगशालामा मंगलबार सुरु हुने दक्षिण एसियाली महिला फुटबल (महिला साफ) प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान साँझ ५:३० मा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी ७ राष्ट्र सहभागी रहेका छन्।
जहाँ दुई समूहमा रहेर प्रतियोगिता खेलाइँदै छ। समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहँदा समूह ‘बी’मा आयोजक नेपाल, श्रीलंका र भुटान प्रतिस्पर्धा गर्दै छन्। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
साविक उपविजेता नेपाल समूहमा सधैँ बलियो छवि बनाए पनि फाइनलमा निरीह रहँदै आएको छ। यो पटक पनि नेपाल आफ्नो समूहचरणको बलियो छापलाई कायम राख्न भुटानविरुद्ध उत्रनेछ।
हेड टु हेडमा नेपाल र भुटान
भुटानविरुद्ध नेपालले पछिल्ला तीन साफमा लगातार प्रतिस्पर्धा गर्दै क्लिनसिटी राख्दै १९ गोल गरेको छ। जसमा सावित्रा भण्डारीले डबल ह्याट्रिक सहित सर्वाधिक ८ गोल भुटानविरुद्ध गरेकी छिन्। उनले २०१६ को साफमा एक्लै ६ गोल गरेकी थिइन्।
२०१४ मा भएको पहिलो साफमा नेपालले भुटानविरुद्ध ८ गोल गरेको थियो। त्यतिवेला सजना राना, अनु लामा‚ दीपा अधिकारी समान २-२ गोल, मेनुका गिरी र सावित्रा भण्डारीको समान १-१ गोल गरेका थिए।
त्यसैगरी २०१६ को साफमा पनि नेपालले भुटानलाई ८ गोल नै गर्यो। जति वेला सावित्रा भण्डारी ६ गोल (डबल ह्याट्रिक), शर्मिला थापा र कृष्णा खत्रीले समान १-१ गोल गरेका थिए। पछिल्लो पटक २०१९ मा नेपालकै विराटनगरमा भएको खेलमा भने नेपालले ३ गोल मात्र गर्यो। जति वेला नेपालका लागि मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र निरु थापाले समान १-१ गोल गरेका थिए।