• २५ आश्विन २०८२, शनिबार

हाइड्रोको पहिरोमा अस्ताए किस्पाङ्का सुनिल

३२ असार, नुवाकोट ।

दोलखाको विगु गाउँपालिका क्षेत्रमा सानिमा हाइड्रोको बाटो सर्भे गर्ने क्रममा खसेको पहिरोमा परेर नुवाकोटको किस्पाङ घर भएका सब–इन्जिनियर सुनिल न्यौपानेको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बाटो सर्भे गर्ने क्रममा काठको मुढासहित आएको पहिरोले टाउकोमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँस्थित धुम्बाराहीको ह्याम्स अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।

२९ वर्षीय न्यौपाने सानिमा हाइड्रो प्रोजेक्टको सर्भे टोलीमा कार्यरत थिए।

उक्त घटनामा साथमा रहेका रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ का २९ वर्षीय विशाल बुढाथोकीसिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौरका २७ वर्षीय सन्दीप चौलागाईं पनि घाइते भएका छन्। उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ।

उद्योग, पूर्वाधार र विकासका क्षेत्रमा युवाहरूको सक्रियता बढिरहेको बेला जीवन जोखिम मोलेर काम गरिरहेका प्राविधिकमध्ये एक थिए सुनिल। आफ्नो काम प्रतिको लगावका कारण विकट पहाडी भेगसम्म पुगेर योगदान दिइरहेका उनी अकालमै दिवंगत हुँदा गाउँ–घरमा शोक छाएको छ





प्रतिक्रिया दिनुहोस्