नुवाकोट – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका जन परिचालन कमाण्डर तथा नुवाकोटका पूर्व जिल्ला सभापति जगदीश्वर नरसिंह केसी नुवाकोट क्षेत्र नं. २ बाट उम्मेदवार बनेसँगै जिल्लाको राजनीतिक वातावरण थप तरंगित बनेको छ। लामो समयदेखि नुवाकोटको राजनीतिक, सामाजिक र संगठनात्मक क्षेत्रमा सक्रिय रहँदै आएका केसी नुवाकोटका दुबै निर्वाचन क्षेत्रका जनताको घरघरमा परिचित नाम हुन्। उनी केवल नेता मात्र होइनन्, जनताको सुख–दुःखका सच्चा सहयात्रीका रूपमा चिनिन्छन्। गाउँ–गाउँ, टोल–टोल र वडावडामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने, समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनको बानीले उनलाई आम नागरिकबीच अत्यन्त लोकप्रिय बनाएको छ।

२०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनका क्रममा उनको नेतृत्वमा रहेको सम्पूर्ण मोर्चाको कमाण्डिङ सम्हाल्दै आन्दोलनलाई सशक्त बनाएका थिए। लोकतन्त्र स्थापनाको संघर्षमा अग्रपंक्तिमा उभिएका केसी आन्दोलनकै क्रममा घाइतेसमेत भएका थिए, जसले उनको साहस, त्याग र लोकतन्त्रप्रतिको अटुट प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ। त्यति मात्र होइन, उनी संविधानसभा सदस्यको जिम्मेवारी समेत निर्वाह गरिसकेका अनुभवी राजनीतिज्ञ हुन् र संविधान निर्माण जस्तो ऐतिहासिक प्रक्रियामा उनको योगदान महत्वपूर्ण मानिन्छ।
नेपाली कांग्रेसभित्र संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जनसम्पर्क विस्तारमा केसीको भूमिका सधैं अग्रणी रहँदै आएको छ। पार्टीका हरेक अभियान, आन्दोलन र कार्यक्रमहरूमा उनी सक्रिय सहभागिता जनाउँदै आएका छन्। इमानदार, निष्ठावान, सरल र जनमुखी स्वभावका कारण उनी पार्टी कार्यकर्तामाझ मात्र होइन, आम नागरिकबीच पनि भरोसायोग्य नेताका रूपमा स्थापित छन्। प्रचारभन्दा व्यवहारलाई, भाषणभन्दा सेवालाई र वाचाभन्दा कामलाई प्राथमिकता दिने उनको नेतृत्व शैली नै उनको राजनीतिक शक्तिको मुख्य आधार बनेको छ।
नुवाकोटले आज अनुभवी, संघर्षशील, समर्पित र जनताको वास्तविक प्रतिनिधित्व गर्न सक्ने नेतृत्व खोजिरहेको सन्दर्भमा जगदीश्वर नरसिंह केसीको उम्मेदवारीलाई जिल्लावासीहरूले आशा, भरोसा र सकारात्मक परिवर्तनको प्रतीकका रूपमा हेरेका छन्। धेरैको बुझाइमा, केसीजस्तो जनतासँग गहिरो सम्बन्ध भएको, आन्दोलनबाट खारिएको र संगठनमा पकड भएको नेता नै नुवाकोटको राजनीतिक भविष्यलाई सही दिशामा अघि बढाउन सक्षम छ ।