नुवाकोट, १० असार । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४२ करोड ४८ लाख ५ हजार ७ सय ४ रुपैयाँ पारित गरेको हो ।
गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ४४ लाख ४५ हजार र पुँजीगत तर्फ १५ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
शिक्षा, स्वास्थ्य र पर्यटन सहितको पूर्वाधार गतिशिल सूर्यगढी हाम्रो आधार भन्ने नारा तय गरेको गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशु विकास, सहकारी, पशु र पर्यटन सम्बन्धी विषय समावेश गरेको छ ।
छात्राहरुलाई शिक्षा तर्फ आकर्षित गर्न अध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, स्वस्थ्य रहनु सबै भन्दा ठुलो सबै घरमा आधुनिक चुलो कार्यक्रम सञ्चालन गरिने, एक घर एक धारा खानेपानी कार्यक्रमलाई प्राथमिकता दिइने, एक वडा एक खेल मैदानको कामलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले बताउनुभयो ।