• ३० फाल्गुन २०८२, शनिबार

नुवाकोटमा गगनलाइ १० किलोको माला सहित भव्य स्वागत, गगन थापाको जोड प्रतिबद्धता

नुवाकोट — नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको ‘भि–१० प्रतिज्ञा पत्र’ सार्वजनिक समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा क्षेत्रीय सभापति जगत बहादुर तामाङले करिब १० किलो तौलको फुलमाला लगाएर पार्टी सभापति गगन थापालाई भव्य स्वागत गर्नुभएको थियो।

नुवाकोटको बटार क्षेत्रमा आयोजित उक्त कार्यक्रममा नेता–कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सयपत्री र गुलाबले सजाइएको विशाल माला सहित गरिएको स्वागतले कार्यक्रमको माहोल उत्साहपूर्ण बनेको थियो भने सभास्थल नाराबाजी र तालीले गुन्जिएको थियो।

समारोहलाई सम्बोधन गर्दै गगन थापाले ‘भि–१० प्रतिज्ञा पत्र’ केवल कागजी घोषणा नभई कार्यान्वयनको स्पष्ट मार्गचित्र भएको बताउनुभयो। उहाँले जनताले परिणाम चाहेको उल्लेख गर्दै पार्टी अब काम र उपलब्धिका आधारमा मूल्यांकन हुन तयार रहेको धारणा व्यक्त गर्नुभयो। “हामीले गरेका प्रतिबद्धता पूरा गर्ने जिम्मेवारीबाट पछि हट्दैनौं,” उहाँको भनाइ थियो।

महासमिति सदस्य गिता अमात्यले कार्यक्रम भव्य रूपमा सफल भएको बताउँदै पार्टी सभापतिलाई नुवाकोटमा स्वागत गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको प्रतिक्रिया दिनुभयो। उहाँले क्षेत्र नं. २ मा पार्टीप्रति जनताको उत्साह उल्लेख्य रहेको पनि बताउनुभयो।

सभामा अन्य वक्ताहरूले आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। ‘भि–१० प्रतिज्ञा पत्र’ कार्यान्वयनमार्फत देशमा विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस सुधार ल्याउने प्रतिबद्धता पनि दोहोर्याइएको थियो।

कार्यक्रमभर उत्साहपूर्ण सहभागिता, नाराबाजी र कार्यकर्ताको सक्रिय उपस्थितिले चुनावी माहोल तातेको देखिएको थियो





प्रतिक्रिया दिनुहोस्