नुवाकोट, फागुन १४
जिल्ला निर्वाचन कार्यालय नुवाकोट ले आज पत्रकारहरूसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीत कुनै पनि आधिकारिक उजुरी नआएको जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी ले नुवाकोटमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै औपचारिक उजुरी दर्ता नभएको स्पष्ट पार्नुभयो। उहाँले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।

यसैगरी प्रजिअ रेग्मी ले जिल्लामा सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मतदान केन्द्रहरूमा आवश्यक सुरक्षाकर्मी परिचालन, संवेदनशील तथा अतिसंवेदनशील क्षेत्रको पहिचान, नियमित गस्ती तथा निगरानी व्यवस्था सुदृढ बनाइएको छ।
निर्वाचनलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रशासन, प्रहरी तथा सम्बन्धित निकायहरूबीच समन्वयात्मक रूपमा काम भइरहेको पनि कार्यक्रममा जानकारी गराइएको थियो।
पत्रकारहरूको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी रेग्मीले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्दै कुनै पनि गुनासो वा सूचना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्नुभयो।