काठमाडौं, ५ कात्तिक । बागमती प्रदेश सरकारले निर्माण गरेका कानुनहरु अब मोबाइल एप्लिकेशनबाट पढ्न सकिने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने एप निर्माण गरी सार्वजनिक गरेको हो।
एपको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यले सार्वजनिक गरेका हुन्। उनले एपबाट बागमती प्रदेश सरकारले निर्माण गरेका सम्पूर्ण कानुनहरु एकीकृत रुपमा मोबाइल एपको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न सहज हुने बताए। उनले भने, ‘यस्ता एपले सूचनाको सहज पहुँचलाई थप सहज हुन्छ।’
उनले सातवटै प्रदेशमध्ये बागमती प्रदेश यस्तो एप सार्वजनिक गर्ने पहिलो प्रदेश भएको बताए। प्रदेशले केही समयअघि बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको थियो।
मन्त्री शाक्यले आफूले पद बहाली गरेको छोटो अवधिमै आफ्नो मन्त्रालयका वार्षिक योजनाहरु करिब सम्पन्न गरिसकेको बताए। आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा आफ्नो मन्त्रालयअन्तर्गत रहेका विषयलाई डिजिटलाइज्ड गर्ने क्रममा सेवाग्राहीको हितमा ध्यान राखी यस प्रदेशमा बनेका कानुनहरु एप र वेबसाइटमार्फत हेर्न सकिने बनाएको बताए।
बागमती कानुन एपमा नेपालको संविधान, बागमती प्रदेश सरकारले निर्माण गरेका ऐन, नियमावली, अध्यादेश, गठन आदेश, निर्देशिका, कार्यविधि, प्रदेश राजपत्रहरू उपलब्ध हुनेछन्। एपमा पुराना कानुन, राजपत्रलगायत कानुनी समाचारहरूलाई समेत समावेश गरिएको छ। त्यसैगरी निर्माणको क्रममा रहेका कानुनहरूमा सर्वसाधारण जनताले आफ्ना राय, सल्लाह/सुझाव पनि व्यक्त गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जानकारी दिएको छ।