• २२ फाल्गुन २०८२, शुक्रबार

अक्षयको ‘सूर्यवंशी’ सय करोड क्लबमा

कात्तिक २४, काठमाडौं ।  शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। 

अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। 

यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहारीमा रहेको बताइएको छ। 

पहिलो हप्तामा उत्साहजनक प्रदर्शन गरेको फिल्मले दोस्रो हप्तामा लगानी सुरक्षित गरेर मुनाफा कमाउने अपेक्षा निर्माण टोलीले गरेको छ।

फिल्मले भारतमा मात्रै ९० करोडभन्दा बढीको व्यापार गरेको छ भने अन्तर्राष्ट्रिय बजारमा झण्डै २५ करोडको व्यापार गरेको हो। यसले फिल्म क्षेत्र पहिलेको अवस्थामा फर्किएको संकेत पनि गरेको छ। 

‘सूर्यवंशी’ सिंघम फ्रेन्चाजको चौथो फिल्म हो। यसअघि प्रदर्शनमा आएका ‘सिंघम’, ‘सिंघम रिटर्न्स’ र ‘सिम्बा’ पनि व्यवसायिक रुपमा सफल फिल्म हुन्। 





प्रतिक्रिया दिनुहोस्