• १६ आश्विन २०८२, बिहीबार

पौडेलपक्षका जगदिश्वरनरसिंह केसीको बागमती प्रदेश सभापतिमा उम्मेद्वारी

नुवाकोट, १६ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बागमती प्रदेशको सभापतिमा जगदिश्वर नरसिंह केसीलाई उम्मेदवार बनाउने भएको छ। पौडेलपक्षका नेताहरुबीच भएको छलफलपछि उनको नाममा सहमति जुटेको हो।

सभापतिको उम्मेदवार केसी नुवाकोटका निवर्तमान सभापति हुन् भने नेता अर्जुन नरसिंह केसीका सहोदर भाइ हुन्।

नेता प्रकाशमान सिंहसहित आकांक्षीहरु बसेर निर्णय गरिएको सभापतिका प्रत्यासी केसीले जानकारी दिए। सिंहले उनी निकट राजुराज जोशीलाई उम्मेदवार बनाउन खोजेका थिए।

केसीको प्यानलबाट उपसभापतिमा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत उम्मेदवार बनाउने निर्णय गरिएको छ। महामन्त्रीमा कञ्चन वादे श्रेष्ठ र रामचन्द्र अर्याल ‘माइकल’ले उम्मेदवारी दिने भएका छन्। एक उपसभापति र सहमहामन्त्रीको टुङ्गो भोलि लाग्ने केसीले जानकारी दिए।

संस्थापनपक्षबाट बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँले उम्मेदवारी दिने घोषणा गरेका छन्। नेता कृष्णप्रसाद सिटौलापक्षबाट सांसद भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन्।





प्रतिक्रिया दिनुहोस्