• ९ माघ २०८१, बुधबार

कांग्रेस बैठकमा केसीले भने– ६० प्रतिशत सिट लिनुपर्छ

काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । चुनावी तालमेल र कांग्रेसले लिनुपर्ने सिट संख्याका विषयमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले आसन्न निर्वाचनका लागि कांग्रेसले गठबन्धनभित्र ६० प्रतिशत (करिब १००) सिट अनिवार्य दाबी गर्नुपर्ने बताए । राजनीतिक जोडघटाउ भए ५५ प्रतिशत सिटसम्म मिल्ने गरी अघि बढ्नुपर्ने धारणा आफूले राखेको उनले जानकारी दिए ।

०७४ सालमा नेकपा (माओवादी केन्द्र), अहिलेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले) एक भएर लडेकाले त्यति बेलाको आधारमा सिट बाँडफाँट गर्न नहुने धारणा आफूले राखेको उनले बताए ।

मधेस प्रदेशमा कांग्रेस बलियो बनाउनुपर्नेमा आफूले जोड दिएको उनले जानकारी दिए । “मधेसबाट हामीले बहुमत पाउँदा सहजै सत्तामा पुग्यौँ । बहुमत नपाउँदा प्रतिपक्षमा बस्नुपर्‍यो । त्यसकारण मधेसमा हामीले विशेष ध्यान दिनुपर्छ भनेर मैले बैठकमा आफ्नो कुरा राखेँ,” उनले बाह्रखरीसित भने ।

पार्टीभित्र संस्थापनइतर समूहको उचित व्यवस्थापन नगरे निर्वाचन नतिजामा असर पर्न सक्ने भन्दै उनले नेतृत्वको ध्यानाकर्षण पनि गराएका थिए ।





प्रतिक्रिया दिनुहोस्