हङकङ : हङकङ प्रहरीले देशद्रोह सम्बन्धी सामग्री प्रकाशित गर्ने षड्यन्त्र गरेको आरोपमा बुधबार एक वेबसाइटको कार्यालयमा छापा मारी ६ जनालाई पक्राउ गरेको छ।
दुई सयभन्दा बढी अधिकारीले छापा मारिरहेको प्रहरीले जनाएको छ। उनीहरूसँग गत वर्ष बनेको राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत सान्दर्भिक पत्रकारिता सामग्री जफत गर्न वारेन्ट जारी गरेको छ।
औपनिवेशिक युगको अपराध अध्यादेशअन्तर्गत राजद्रोह सामग्री प्रकाशित गर्ने षड्यन्त्र गरेको आरोपमा बुधबार बिहानै ६ जनालाई पक्राउ गरिएको थियो। उनीहरूको घरमा खानतलास भइरहेको अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा तीनजना महिला र तीनजना पुरुष छन्। उनीहरू ३४ दखि ७३ वर्षका रहेको जनाइएको छ।
स्थानीय पत्रिका ‘साउथ चाइना मर्निङ पोस्ट’का अनुसार प्रहरीले ‘स्ट्यान्ड न्यूज’का पूर्व तथा वर्तमान सम्पादक र बोर्डका चार पूर्व सदस्यलाई पक्राउ गरेको छ।
यसमा गायक एवं प्रजातन्त्रवादी कार्यकर्ता तनिस हो‚ फुई खुअन र फात्रिक लाम समावेश छन्। यसैगरी पूर्व सांसद मार्गरेट ङ‚ क्रिस्तिन फाङ र चौ थात-छी पनि पक्राउ गरेका छन्। यद्यपि प्रहरीले पक्राउ परेकाहरूको परिचय भने खुलाएको छैन।
साउथ चाइना मर्निङ पोस्टका अनुसार कथित अपराधको अनुसन्धान गर्न प्रहरी अधिकारीहरूले बुधबार बिहान उपसम्पादक रोनसोन छानको घरमा छापा मारेको भिडियो स्ट्यान्ड न्यूजले फेसबुकमा साझा गरेको छ।
छान हङकङ पत्रकार संघका अध्यक्ष पनि हुन्। उनलाई अहिलेसम्म हिरासतमा नराखे पनि सोधपुछका लागि नियन्त्रणमा राखिएको छ।
अधिकारीहरूले अर्ध-स्वायत्त चिनियाँ शहर हङकङमा असन्तुष्टिलाई रोक्न खोजिरहेका वेला उनीहरूलाई पक्राउ परेका हुन्।
प्रहरीले मंगलबार एप्पल दैनिक पत्रिकाका पूर्व प्रकाशक जिमी लाईलाई देशद्रोहको आरोप लगाएको छ। साथै ‘एप्पल डेली’ पत्रिका बन्द भएको छ।