सैनामैना : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सहिद नारायण पोखरेल रामापुर क्याम्पस कमिटीले क्याम्पस प्रमुखसमक्ष वृद्धि गरिएका शुल्कहरु खारेज गर्न माग गर्दै विज्ञप्ति बुझाएको छ । क्याम्पसले वृद्धि गरेको भर्ना शुल्क, मासिक शुल्कलगायत अन्य शुल्क खारेजीको माग विज्ञप्तिमा गरिएको छ ।
अनेरास्ववियु कमिटीले सोमबार क्याम्पस प्रमुख यदुलाल पन्थलाई विज्ञप्ति बुझाएका थिए ।
विज्ञप्तिमा कोभिड संक्रमणको यस महामारीमा विद्यार्थी साथै अभिभावकको ढाड सेक्ने गरी क्याम्पसबाट लिइने भर्ना शुल्क, विद्यार्थीको मासिक शुल्क लगायत अन्य शुल्कमा अस्वभाविक, अनियन्त्रित ढंगले वृद्धि गर्ने काम भएको र अनेरास्ववियुको सहमतिबिना गरिएको यस कार्य मान्य नहुने भन्दै सबै शुल्क तुरुन्तै खारेज गरी विद्यार्थीमाथि न्याय प्रदान गर्न जोडदार माग गरिएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष सुमित सापकोटा र जिल्ला तथा क्याम्पस कमिटीका नेताहरुको उपस्थितिमा क्याम्पस प्रमुखलाई प्रेस विज्ञप्ति बुझाइएको थियो । अनेरास्ववियूका नेताहरुले मागलाई बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।