• २३ फाल्गुन २०८२, शनिबार

रसुवागढीमा चिनियाँ कन्टेनर थप्‍ने सहमति

काठमाडौं : रसुवागढी नाकाबाट नेपाल आयात हुने चिनियाँ सामग्रीको परिमाण चैत्र १ देखि बढ्ने भएको छ।

रसुवा र केरुङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। चैत्र १ गतेबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए।

उनका अनुसार नेपालले २५ वटा कन्टेनरमा सामग्री पठाउनका लागि माग गरेको थियो। थप कन्टेनर राख्ने संरचना बढेपछि चिनियाँ पक्षले थप कन्टेनर पठाउने सहमति भएको प्रजिअ जैसीले बताए।

‘चिनियाँ पक्षबाट २५ वटा हामीले माग गरेको हो। संरचना बढेपछि क्रमश बढाउँदै जाने विश्वास दिएका छन्’, प्रजिअ जैसीले थपे, ‘कन्टेनर पार्किङ बनाउन लागेका छौं। एक/डेढ महिनामै सम्पन्न हुन्छ। त्यसपछि फेरी कन्टेनर संख्या बढ्ला।’

केही अघिदेखि थप एक कन्टेनर गरी हाल ९ वटा चिनियाँ कन्टेनरबाट दिनहुँ आयात भइरहेको उद्योग वाणिज्य संघ रसुवाका अध्यक्ष सुक्साङ तामाङले बताए।

उनले भने, ‘अस्तिसम्म ८ वटा आइरहेको थियो। अहिले एउटा बढाएर ९ वटा आइरहेको छ।’ कोभिड–१९ संक्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन प्रयास गरिएपछि तीन दिन अघि देखि कन्टेनर थप भएको र थप हुने पक्रियामै रहेको उनले दोहोर्‍याए।

चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि व्यापारी र व्यवसायीहरु उत्साहित भएका छन्।

कोरोना संक्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टनरबाट आयात सुरु गरेको थियो। पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा तीन, छ हुँदै हाल नौवटा कन्टेनरबाट सामग्री आयात भइरहेको छ।

यो समाचार थाहा खबरमा प्रकाशित रहेको छ ।





प्रतिक्रिया दिनुहोस्