नुवाकोट, २६ चैत । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६७३ जनाको सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरीमा पछिल्लो १९ महिनादेखि इन्सपेक्टरको सरुवा रोकिदै आएकोमा हिजो एकैपटक धेरै सङ्ख्याको सरुवा निकालेको हो । प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार नुवाकोटमा कार्यरत रहनुभएका दुई जना प्रहरी निरीक्षक पनि परिवर्तन भएको छ ।
नुवाकोटमा कार्यरत रहनुभएका जनार्दन घिमिरे र ललिता ढकाल दुवैजना प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय, नक्साल काठमाडौमा सरुवा हुनुभएको छ ।
नुवाकोटको बसाईमा प्रहरी निरीक्षकहरु जनार्दन घिमिरे र ललिता ढकालको भूमिका निकै प्रशंसनीय रहेको थियो । उहाँहरुले जिल्लामा शान्ति सुरक्षा कायम गर्नदेखि अपराध नियन्त्रण गर्न, मुद्धाको अनुसन्धान गर्न र अन्यायमा परेकाहरुलाई न्याय दिन पुराएको भूमिका प्रभावकारी भएसगैँ सेवा प्रवाह उत्कृष्ट मानिदै आएको थियो । सेवा प्रवाहको छोटो अवधिमा नै उहाँहरु नुवाकोटका जनताबीच निकै लोकप्रिय रहनुभएको थियो ।
नुवाकोटमा हाल कार्यरत दुई जना प्रहरी निरीक्षकहरुको सरुवा भएसगैँ अब नुवाकोटमा बागमति प्रदेश सशस्त्र प्रहरी गण, गुल्म नं . १ हेटौडाबाट दिलिपकुमार हुमागाई र प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौबाट लक्ष्मी खड्का आउन लाग्नुभएको छ ।