रसुवा– रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा जनै पूर्णिमा मेला अवधिभर रु २ लाख ५७ हजार १ सय ५५ भेटी सङ्कलन भएको छ ।
यही भदौ ३ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत सङ्कलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे पुर्याई गणना सम्पन्न भएको हो।
उक्त सङ्कलित भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको छ। प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्य समितिको निर्णय बमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ। नाग पञ्चमी देखि भाद्र ३ गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा ११ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
त्यसै गरी गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत १० हजार यात्रु बापत रु १० लाख सङ्कलन गरिएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनु भयो।
समितिले मन्दिरको आय हरेक वर्ष सार्वजनिक गर्दै आएको छ । गत वर्षको तुलनामा यस वर्ष कम रकम संकलन भएकाे गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डीएमले बताउनु भएको छ।
तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुञ्चे, हिमालय उद्धार सङ्घ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।