• २६ आश्विन २०८२, आईतवार

नुवाकोटमा धमाधम रोपाइँ, किसान व्यस्त

नुवाकोट, असार १७
वर्षा यामको सुरुवातसँगै नुवाकोट जिल्लाभर धमाधम रोपाइँ कार्य तीव्र गतिमा अघि बढिरहेको छ। असार महिनालाई कृषिप्रधान समाजमा ‘धानको मौसम’ मानिने गरिन्छ, र यही अवसरलाई सदुपयोग गर्दै जिल्लाका अधिकांश किसानहरू खेतमा व्यस्त देखिएका छन्।

बागमती प्रदेश अन्तर्गत पर्ने नुवाकोट जिल्लामा यस वर्ष पर्याप्त वर्षा भएको कारणले समयमै रोपाइँ सुरु गर्न सहज भएको किसानहरूको भनाइ छ। विशेषगरी विदुर, लिखु, पन्चकन्या, तारकेश्वर, बेलकोटगढी, ककनी, शिवपुरी लगायतका स्थानीय तहमा रोपाइँको चहलपहल उल्लेख्य देखिएको छ।

कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार, यस वर्ष जिल्लामा धानखेतीका लागि १० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य राखिएको छ। उन्नत जातका धानको प्रयोग, सरकारी अनुदान र यान्त्रिक उपकरणहरूको प्रयोगले गर्दा रोपाइँ कार्य सहज र छिटो भइरहेको छ । लिखु गाउपालीका वडा न १ न्यौपान किसान कृष्ण न्यौपाने भन्छन्, “यसपटक वर्षा समयमै भएको छ, त्यसैले रोपाइँ सहजै भइरहेको छ। यसपालि उत्पादन पनि राम्रै हुने आशा छ।”

स्थानीय युवा तथा महिला समूहहरू समेत रोपाइँमा सक्रिय देखिएका छन्। कतिपय ठाउँमा परम्परागत रुपमा रोपाइँसँगै ‘आसाारे गीत’ गाउने संस्कृति पनि देखिएको छ, जसले कृषि कार्यलाई अझै रमाइलो बनाएको छ।

कृषि विज्ञहरूले समयमै रोपाइँ गरे उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। साथै, धान उत्पादनमा आत्मनिर्भरता बढाउन यस्ता सामूहिक प्रयासहरू महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्