नुवाकोट, असार १७ – नुवाकोटको त्रिशूली अस्पतालमा एक जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। डिम्बनली (फ्यालोपियन ट्युव) फुटेकी ३५ वर्षीया गर्भवती महिलाको ज्यान जोखिममा परेपछि त्रिशूली अस्पतालमा आपतकालीन शल्यक्रिया गरी सफल उपचार गरिएको हो।
अस्पतालका मेसु डा .राजेन्द्र लामाले शल्यक्रिया सफल भएको जानकारी दिनुहुँदै भने, “बिरामी गम्भीर अवस्थामा ल्याइएकी थिइन्। बच्चा पाठेघरमा नभई डिम्बनलीमा रहेकाले त्यहाँबाट आन्तरिक रक्तश्राव भइरहेको थियो। तुरुन्तै गाइनेकोलोजिस्ट डा. दीपिका श्रेष्ठ र एनेस्थेसियालोजिस्ट डा. सुजन केसीको टोलीले अपरेसन गरी ज्यान बचाउन सफल भएका छन्।”
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले पनि अस्पतालले पछिल्लो समय हरेक प्रकारका जटिल शल्यक्रिया सफलता साथ सम्पन्न गर्न थालेको जनाउँदै भने, “अब त्रिशूली अस्पतालमा साना-मसिना उपचार मात्र होइन, जटिल शल्यक्रियाहरू पनि सुरक्षित रूपमा सम्पन्न भइरहेका छन्। यसमा दक्ष जनशक्ति, आवश्यक उपकरण, समयमै सेवा र व्यवस्थापन सुधारको मुख्य योगदान रहेको छ।”
अध्यक्ष बुढाथोकीले आगामी दिनमा थप सेवा विस्तार, विशेषज्ञ जनशक्ति स्थायीत्व, पूर्वाधार विकास र प्रविधिको उपयोगमार्फत त्रिशूली अस्पताललाई ‘उदाहरणीय क्षेत्रीय अस्पताल’ बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
यसबीच, सफल उपचारपछि ती महिलाको अवस्था सामान्य रहेको र थप निगरानीमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।