• ७ कार्तिक २०८२, बिहीबार

नेपाली कांग्रेसप्रति जनविश्वास घट्दो, गम्भीर नसोचिए परिणाम गम्भीर हुन सक्छ : अर्जुननरसिंह केसी

काठमाडौं, १८ असार – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विगत केही वर्षयता राजनीतिक दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले पुराना पार्टीहरूबारे “काम गर्दैनन्” भन्ने धारणा बलियो बन्दै गएको उल्लेख गरे।

“विगत केही वर्षदेखि राजनीतिक दलप्रति भरोसा टुटिरहेको छ। पुराना पार्टीले काम गर्दैनन् भन्ने भइसक्यो,” केसीले भने, “यसबारे गम्भीर भइएन भने आउने परिस्थिति सजिलो देख्दिनँ।”

केसीले नेपाली कांग्रेस गुट–उपगुटको प्रभावमा शिथिल बनेको भन्दै संस्थागत संरचना बलियो बनाउन सबै एक हुनुपर्नेमा जोड दिए। पार्टी व्यक्ति–केन्द्रित बनेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले संस्थालाई क्षति पु¥याइरहेको धारणा राखे।

“हामी गुट-उपगुटमा विभाजित छौँ। पार्टी व्यक्ति प्रदान होइन संस्था प्रदान हुनुपर्छ,” उनले भने, “यहाँ त कसैलाई पेल्यापेल्यै गरिएको छ।”

महाधिवेशन मिति तत्काल तोक्नुपर्ने माग

केसीले पार्टी महाधिवेशनको मिति अहिलेसम्म नतोकिएकोप्रति असन्तुष्टि जनाउँदै २०८२ मै महाधिवेशन गरिनुपर्ने स्पष्ट धारणा व्यक्त गरे। “अब मिति तोक्नै पर्ने आवश्यकता छ,” उनले भने, “समय थपे पनि यो समयमा महाधिवेशन हुन्छ भन्नुपर्छ। मेरो धारणा भन्नुहुन्छ भने त ०८२ मै हुनुपर्छ नि।”

अनुशासन समितिप्रति आक्रोश

पार्टी अनुशासन समिति पारदर्शी, निष्पक्ष र मर्यादित हुनुपर्नेमा केसीले जोड दिए। समितिको कामप्रति असन्तुष्टि जनाउँदै उनले भने, “यहाँ त मनपरी ढंगले कतै के गरिएको छ। पार्टीमा अन्तर्घात गर्ने सबैलाई माफी दिने हो भने दिऔँ, होइन भने कारबाही गरौँ। संविधानभन्दा माथि हो अनुशासन समितिको सभापति?”

अनुशासनको नाममा व्यक्तिगत पूर्वाग्रहले निर्णय भएको देखिएको उल्लेख गर्दै उनले यस्तो अवस्था नसुध्रिए आफू आमरण अनशनमा जान सक्ने चेतावनीसमेत दिए। “मान्छेको इज्जत प्रतिष्ठाको ख्याल छैन, मनपरी गरिएको छ। यसको जिम्मा पार्टी सभापतिलाई नै दिन्छु,” उनले भने।

चेतावनीपूर्ण अभिव्यक्ति

केसीले पार्टीभित्र एकपक्षीय दबाब सिर्जना गर्ने प्रयास भए प्रतिकार गर्न आफू तयार रहेको संकेत पनि दिए। “मनपरी गरेर एक पक्षले अर्को पक्षलाई दबाउन खोजियो भने, सीमा पार भयो भने हामीले पनि सीमा पार गरेर जानुपर्ने हुन सक्छ,” उनले भने





प्रतिक्रिया दिनुहोस्