नुवाकोट ,२४ । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा भएको ठूलो क्षतिको स्थलगत निरीक्षण गर्न अर्थमन्त्री विष्णु पौडेल सोमबार रसुवा जाँदैछन्। अर्थमन्त्री पौडेलको टोलीमा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक महेश भट्टराईलगायत अधिकारीहरू रहने छन्।
अर्थ मन्त्रालयले हेलिकोप्टरको व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ। घटनास्थल पुगेर बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन गर्ने र आगामी राहत तथा पुनर्निर्माणका काममा आवश्यक निर्णय लिन अर्थमन्त्रीको भ्रमण महत्त्वपूर्ण मानिएको छ।
गएको राति रसुवामा आएको भीषण बाढीले कम्तीमा १८ जना बेपत्ता बनाएको छ भने हालसम्म २ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ९ जनाको उद्दार गर्न सफल भएका छन्।
यसैबीच, बाढीको बेला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र डीएसपी हेम शाही काठमाडौंमै रहेका थिए, जसले स्थानीय व्यवस्थापन पक्षप्रति केही प्रश्न उठाएको छ। तर अहिले केन्द्र सरकारले सक्रियता देखाउँदै उच्चस्तरीय टोली पठाउनु सकारात्मक कदमको रूपमा हेरिएको छ ।