• १९ मंसिर २०८२, बिहीबार

किस्पाङ गाउँपालिकामा रासायनिक मल वितरणमा चरम लापरवाही, जनप्रतिनिधिहरूको मिलेमतोमा एकल सहकारीलाई सिफारिस

किस्पाङ (नुवाकोट), असार २९  किस्पाङ गाउँपालिका–३ मा रासायनिक मल वितरणको नाममा सरकारी स्रोतसाधनको दुरुपयोग र नीति विपरीतको एकपक्षीय निर्णय भएको खुलेको छ। जनप्रतिनिधिहरूको मिलेमतोमा एक मात्र सहकारीलाई सिफारिस गरिएको घटनाले गम्भीर प्रशासनिक लापरवाही उजागर गरेको छ।

श्री शुभ नव विहानी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष क्षेत्र बहादुर तामाङ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय, विदुरमा बुझाएको उजुरी अनुसार, कृषि सामग्री कम्पनी लिमिटेडबाट प्राप्त १३० बोरा युरिया मल बिना कुनै छनोट प्रक्रिया श्री सिङ्ला बहुउद्देश्यीय सहकारी संस्था लाई मात्र वितरण गर्न सिफारिस गरिएको छ। उक्त निर्णयमा गाउँपालिका उपाध्यक्ष र वडा नं. ३ का अध्यक्षबीचको आपसी साँठगाँठ देखिएको उजुरीमा स्पष्ट उल्लेख छ।

उजुरीमा भनिएको छ, “विगतमा मल वितरण संयुक्त निर्णय, समितिको सहमति र पारदर्शी विधिबाट हुँदै आएकोमा यस वर्ष कुनै छलफल नगरी गोप्य रूपमा एक मात्र सहकारीलाई मल दिने प्रयास गरिएको छ।” यस्तो कार्यले न केवल सहकारीहरूको विश्वास तोडिएको छ, बरु प्रशासनिक शुद्धता र नीति निर्देशिकालाई समेत चुनौती दिएको छ।

श्री शुभ नव विहानी सहकारीका अध्यक्ष तामाङले कडा शब्दमा प्रतिक्रिया दिँदै भने, “हामीले कृषकको हितका लागि निरन्तर सेवा दिँदै आएका छौं। तर, एकपक्षीय निर्णय गरेर हामीलाई बेवास्ता गर्नु निन्दनीय छ। यस्तो कार्यले पारदर्शिताको उपहास भएको छ।”

यसरी राजनीतिक पहुँच र पदको दुरुपयोगमार्फत स्रोतसाधन नियन्त्रण गर्न खोजिएको यस्ता कार्यले कृषकलाई मात्र होइन, स्थानीय सरकारप्रति विश्वासलाई समेत गम्भीर क्षति पुर्‍याएको छ। उजुरीमा, मल वितरण प्रक्रिया न्यायोचित, समावेशी र पारदर्शी बनाइने व्यवस्था मिलाइयोस् भन्ने स्पष्ट माग गरिएको छ।

अब प्रशासनले उक्त उजुरीलाई कसरी लिन्छ र जनप्रतिनिधिहरूको मिलेमतोमा भएको यस्तो असमान व्यवहारमाथि के कदम चाल्छ भन्ने कुराले जनचासो बटुलेको छ





प्रतिक्रिया दिनुहोस्