• २५ आश्विन २०८२, शनिबार

शंखादेवी माविमा लेखापालको किर्ते हस्ताक्षर प्रयोग गरी आर्थिक कारोबार, प्रधानाध्यापकमाथि गम्भीर आरोप

नुवाकोट — नुवाकोटको तारकेश्वर गाउँपालिका–५ स्थित शंखादेवी माध्यमिक विद्यालयमा लेखापालको किर्ते हस्ताक्षर प्रयोग गरी आर्थिक कारोबार गरिएको खुलासा भएको छ।

विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारीमाथि लेखापाल अनिता तामाङको नाम र हस्ताक्षर दुरुपयोग गरी लाखौँ रुपैयाँको तलब वितरण गरेको आरोप लागेको हो।

अनिता तामाङले २०८१ साल फागुन १ गते लेखापाल पदबाट राजीनामा दिएकी थिइन्। त्यसयता उनी अध्ययनका लागि बेलायतको लन्डनमा छिन्। तर, विद्यालयका तलब सिफारिस पत्रहरूमा उनले राजीनामा दिएको दुई महिना पछिसम्म पनि उनको नाम र हस्ताक्षर प्रयोग भएको देखिन्छ।

२०८२ साल वैशाख १९ र जेठ १२ गते विद्यालयले हिमालयन बैंकलाई पठाएको तलब सिफारिसमा तामाङकै हस्ताक्षर देखिएको छ। तर ती पत्रहरूमा प्रधानाध्यापकको हस्ताक्षर भने छैन, जसले घटनालाई अझ शंकास्पद बनाएको छ।

बेलायतमा रहेकी तामाङले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिएको महिनौँपछि समेत आफ्नो हस्ताक्षर दुरुपयोग भएको जानकारी दिएकी छिन्। उनले पुस र माघ महिनाको तलबसमेत नपाएको गुनासो गरेकी छन्।

विद्यालयका आर्थिक कारोबार लेखापाल र प्रधानाध्यापकको संयुक्त हस्ताक्षरबाट मात्र चल्नुपर्ने भए पनि लेखापालको अनुपस्थितिमा कसरी कारोबार भयो भन्नेबारे प्रश्न उठेको छ।

अनिता तामाङले आफूले चार वटा चेकमा मात्रै हस्ताक्षर गरेको बताएकी छन्। ती पनि मन्दिर निर्माण सामग्री खरिदका लागि हस्ताक्षर गरिएको उल्लेख छ। तर विद्यालय स्रोतका अनुसार फागुनदेखि असारसम्म आठभन्दा बढी चेक प्रयोग भएका छन्।

घटनाबारे प्रतिक्रिया माग्दा विद्यालयका प्रधानाध्यापक राजाराम अधिकारी सम्पर्कमा आउन चाहेनन्। गाउँपालिकाको शिक्षा शाखा प्रमुख सिर्जना अर्यालले आफूलाई थाहा नभएको बताइन्। गाउँपालिका अध्यक्ष शिव अधिकारीले भने कुनै जालसाजी नभएको दाबी गरे।

कानुन अनुसार किर्ते कागजात बनाउने र प्रयोग गर्ने कार्य फौजदारी अपराध हो। यसका लागि अधिकतम पाँच वर्षसम्म कैद र जरिवाना हुने प्रावधान छ। पीडितले प्रहरी वा अदालतमा उजुरी दिएर न्याय माग्न सक्ने व्यवस्था छ ।





प्रतिक्रिया दिनुहोस्