विदुर, नुवाकोट ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रियताको लागि खेलकुद” भन्ने नारासहित जिल्लामा खेलकुदको समग्र विकासका लागि क्रियाशील नुवाकोट जिल्ला खेलकुद विकास समितिले जिल्लाभित्र रहेका विभिन्न खेल संघहरुलाई तत्काल समितिसँग सम्पर्क गरी सूचिकृत प्रक्रियामा सामेल हुन आग्रह गरेको छ ।
समितिले आइतबार जारी गरेको सूचनामा खेल संघहरुले आवश्यक कागजातसहित सम्पर्क गरी १ हप्ताभित्र सूचिकृत प्रकृया पूरा गर्न भनिएको छ । यस अवधिभित्र सम्पर्क नगरेमा जिल्लास्थित ती संघलाई स्वतः विघटन भएको मानिने उल्लेख छ ।
जिल्लाभित्र खेल प्रतिभा र खेलाडी उत्पादनमा विभिन्न संघ–संस्थाले महत्वपूर्ण योगदान दिइरहेका भए पनि तीमध्ये कतिपय संघ अझैसम्म औपचारिक रूपमा जिल्ला खेलकुद विकास समितिमा दर्ता र सूचिकृत नभएको समितिको भनाइ छ । यसले गर्दा समिति मातहतका कार्यक्रम, प्रतियोगिता तथा प्राविधिक सहयोगमा असुविधा हुने भएकाले तत्काल सूचिकृत प्रकृया पूरा गर्न आग्रह गरिएको हो ।
समितिका अध्यक्ष विजय गुरुङले हस्ताक्षरित सूचनामा भनिएको छ, “समितिमा दर्ता तथा सूचिकृत हुन बाँकी रहेका खेल संघहरुले छिट्टै सम्पर्क गरी कानूनी प्रक्रिया पूरा गर्न जरुरी छ । समयमै सम्पर्क नगरेका संघलाई सक्रिय नभएको ठानी स्वतः विघटन भएको मानिनेछ ।”
स्थानीय स्तरमा खेलकुदको विस्तार र खेलाडीहरुको भविष्य सुनिश्चित गर्न संस्था तथा संघसंघटनाहरु बीच समन्वय आवश्यक रहेको समितिको भनाइ छ । यसअघि समेत समितिले संघ–संस्थाहरुलाई सूचिकृत हुन पटक–पटक आह्वान गरे पनि अझै केही संघ सूचिकृत नभएकाले फेरि एक पटक लिखित रूपमा सूचना जारी गरिएको हो ।
जिल्लामा फुटबल, भलिबल, एथलेटिक्स, कराते, तेक्वान्दो, बक्सिङलगायतका खेल संघ सक्रिय रहेका छन् । ती संघहरुमध्ये कतिपयले राम्रो काम गरिरहे पनि कतिपय संघ कागजी अवस्थामा मात्र रहेकाले यसपटक समिति कठोर बन्न बाध्य भएको हो ।
समितिको निर्णयले अब जिल्लामा खेल संघको अनुशासन, जवाफदेहिता र पारदर्शिता थप बढ्ने अपेक्षा गरिएको छ ।