बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा कार्यान्वयन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। स्वास्थ्य सेवा सूचक, वार्षिक कार्यसम्पादन, सेवा प्रवाहको प्रभावकारिता र प्रस्तुतीकरणको आधारमा गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पताललाई प्रथम र नुवाकोटस्थित त्रीशुली अस्पताललाई दोस्रो स्थान प्रदान गरिएको छ।
सुधारोन्मुख सेवाका कारण त्रीशुली अस्पतालको मूल्याङ्कन उकालो
पछिल्लो समय त्रीशुली अस्पतालले सेवा प्रवाहमा ल्याएको छोटो प्रतीक्षा समय, छरितो उपचार प्रक्रिया तथा सहज सेवाप्रवाहका कारण जनताको विश्वास बढ्दै गएको छ। अस्पतालमा नयाँ सञ्चालक समिति गठन भई उपेन्द्र बुढाथोकी अध्यक्षमा नियुक्त भएपछि प्रशासनिक सुधार, सेवा व्यवस्थापन, पारदर्शिता र अनुशासनमा उल्लेखनीय प्रगति भएको अस्पताल प्रशासनले जनाएको छ।

मेसु डा. राजेन्द्र लामाको नेतृत्वमा संरचनागत तथा सेवा सुधार
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र लामा, जो नुवाकोटका स्थानीय हुन्,
उनको नेतृत्वमा अस्पतालमा संरचनागत सुधार, विशेषज्ञ सेवा विस्तार, स्वच्छता व्यवस्थापन, उपकरण अभिवृद्धि र आन्तरिक अनुशासनमा व्यापक सुधार भएको बताइन्छ।
डा. लामाले प्रशासनिक नेतृत्व सम्हालेपछि अस्पतालमा सेवा गुणस्तरमा वृद्धि, समयपालनमा कडाइ, तथा नागरिकमैत्री वातावरण निर्माण भएपछि अस्पतालको समग्र कार्यसम्पादन दर वृद्धि पाएको सरोकारवालाहरूको भनाइ छ।
यिनै सुधारका आधारमा त्रीशुली अस्पताल यस वर्षको मूल्याङ्कनमा दोस्रो स्थानमा स्थापित हुन सफल भएको हो ।